महामारीमा भित्रै थियौँ, ओली-भण्डारीले सडकमा निकाल्छन् भने तयार छौँ
'यी सब सपना र उद्देश्य नभएका मान्छे हुन्'

काठमाडौं : सरकारले संसद् विघटन गर्ने निर्णय गरेपछि राजनीति तरंगित बनेको छ । राजा महेन्द्रले २०१७ पुस १ गते दुई तिहाइको संसद् भंग गरेर प्रधानमन्त्री बीपी कोइरालालाई थुनेका थिए । त्यही महेन्द्र कू-को साइतको पाँच दिनपछि प्रधानमन्त्री स्वयंले संसद् भंग गर्ने कदम चालेका छन् ।
यसलाई राष्ट्रपतिले स्वीकृत पनि गरिसकेकी छन् । यसै सन्दर्भमा इकागजले आइतबार दिउँसो तीन बजे चार जना ‘नागरिक नेता’सँग सम्पर्क गरेको थियो । उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई नेपालको दुर्भाग्यको संज्ञा दिँदै देश अधोगतितिर धकेल्ने कदम भनेका छन् । उनीहरू भन्छन् :
राष्ट्रपति संविधानको रक्षक कि भक्षक ? : डा. देवेन्द्रराज पाण्डे
म त महामारीमा खासै बाहिर निस्केको छैन । अब केपी शर्मा ओलीले बाहिर निकाल्छन् भने देखा जायगा । म त सडकमा जान तयार नै छु । तर, तपाईंहरूसँग बोल्न चाहिँ तयार छैन । मलाई बकबक गर्न मन लाग्दैन । धेरै बकेबके भयो संसार । इमान, जमान, निष्ठा कता छ, के छ पत्तो भएन अब । यो अलमल्याउने कुरा हो । यिनीहरू वार्ता, मिटिङ भन्छन्, बाँडिचुँडी खाने त हो नि । एकआपसमा घुर्क्याइरहने, धम्काइरहने, अन्ततः मिलेमतो गरी बाँडिचुँडी खाइरहने संस्कृति न हो, हाम्रो राजनीतिको । तपाईं राष्ट्रपति कार्यालयलाई सोध्नुस्, यो असंवैधानिक कदम कुन धारा टेकेर चालिएको हो ? संसद् विघटन गर्ने सिफारिस र स्वीकृतिमा संविधानको कुन धाराको उल्लेख गरिएको छ, सोध्नुस् न । कोरोनाको स्थिति के हो नेपालमा ? यो कुरा गरौँ न ।
नेपालको दुर्भाग्य : केदारभक्त माथेमा
यो सब नेपालको दुर्भाग्य हो । दुई तिहाइको सरकार हुँदा पनि यस्तो हुनु हाम्रो विडम्बना नै हो । के नपुग्दो थियो र सरकारलाई ? मलाई अरु कुरा केही थाहा छैन । भ्याक्सिन चाँडो आउनुपर्यो । भ्याक्सिन खोजी गर्नुपर्ने बेलामा किन त यस्तो ? यो त मानव अस्तित्वमै भाइरसले यस्तो चुनौती थपेका बेला अमानवीय कदम नै भयो नि । मैले त बुझ्नै सकिनँ । नेवार भाषामा एउटा उखान छ । त्यसलाई नेपालीमा भन्छन्, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।’ यही हो सरकार र राष्ट्रपतिको कदम ।
ओलीले जे गर्छन्, त्यही गर्ने राष्ट्रपतिले पनि ? : सुशीला कार्की
एउटै पार्टीभित्रको समस्याले यत्रो रूप लिने भनेपछि यो त कुनै पनि ढंगमा सही भएन । खान पनि मिलेर नसक्ने ? यी कस्ता ? अर्काे चुनावको खर्चपर्चको कुरा मात्र होइन, यो त राजनीतिक अस्थिरताको ठूलो प्रकरण भयो । जनताको विकासको आवश्यकताको कुरा कता गयो ? जसले जे गर्न सक्यो, त्यही गर्ने ? यसरी त लोकतन्त्र चल्दैन । भारतमा पनि त नरसिंह रावको पालामा बहुमत थिएन नि त । संयुक्त सरकार लामो समयसम्म चलेर गयो । अहिलेको संविधानमा संसद् विघटनसम्बन्धी प्रावधान नै छैन । अर्काे सरकार बन्न नसकेको सन्दर्भमा पो कुरा उठ्छ ।
यतिबेला संसद् विघटन भनेको त माधव नेपालको पालामा जस्तो झन्नै एक वर्षसम्म एकोहोरो कामचलाउ सरकार चलाउने उद्देश्य हुन सक्छ । यो कदम कतै पनि राम्र्रो भएन । यति सानो कारण, म त भन्छु विनाकारण नै यस्तो गर्नु त हुँदै हुँदैनथ्यो । संयुक्त सरकार हुँदा, दलहरू मिलेर सरकार बनाउँदा यस्तो हुन सक्छ, तर यसमा त त्यो पनि छैन । गिरिजा बाबुको पालामा पनि मिलेन, अहिले पनि मिलेन । अस्थिरता नै नेपालको स्थायी नियति भयो । यसमा राष्ट्रपतिले हेर्नु पनि त पथ्र्योे । मिलेन भन्न सक्नुपथ्र्याे । संविधानसम्मत भएन त भन्नुपर्छ नि, उहाँले । ओलीले जे गर्छन्, त्यही गर्ने राष्ट्रपतिले पनि ? कटवाल काण्डमा यतिकै अधिकार भएका राष्ट्रपति रामवरण यादवले राष्ट्रको पक्षमा अडान लिएका थिए नि । यो कदम कुनै पनि हालतमा राम्रो भएन ।
देशलाई अधोगतितिर धकेल्ने काम : सीके लाल
म राजनीतिबारे लेखिरहेको भए पनि हरक्षण अपडेट लिइरहन्न । ए हो, त्यस्तो भएछ ? मलाई खास थाह छैन । म यिनीहरुबारे मतलबै राख्दिनँ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत यी सब सपना र उद्देश्य नभएका मान्छे हुन् । यहाँ यस्ता नौटंकीहरू सधैँ भइरहन्छन् । यहाँ सधैँ देशलाई अधोगतितिर धकेल्ने नै काम हुन्छ । त्यही हो, यो नौटंकी जति छिटो टुंगिन्छ, उति राम्रो ।

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

प्रतिक्रिया