शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

माल्दिभसले दिएको २ लाख बढी खोप आज दिउँसो नेपाल आइपुग्‍ने

फाइल तस्बिर

काठमाडौँ - माल्दिभ्सले नेपाललाई कोभिडविरुद्धको अष्‍ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । माल्दिभ्स सरकारले उपहारस्वरूप २ लाख १६ हजार खोप उपलब्‍ध गराउने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप भण्डारण शाखाले जनाएको छ ।

खोप आज (आइतबार) दिउँसो नेपाल ल्याइने शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए । उनकाअनुसार १ बजे ल्याइने भए पनि समय परिवर्तन भएकाले केही समय परिवर्तन हुन सक्छ । 'आज जसरी पनि खोप आइपुग्छ,' उनले भने ।

यसअघि छिमेकी मुलुक भुटान, जापान, अमेरिका, चीन र भारतले पनि उपहारस्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराइसकेका छन् । गत वर्षको माघको दोस्रो सातादेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । कोभिसिल्ड खोप भारतले अनुदान स्वरुप उपलब्ध गराएको थियो । पछि चीनले पनि उपलब्ध गराउन थालेपछि भेरोसेल खोप लगाउन थालिएको थियो ।

नेपालमा हालसम्म चीनमा उत्पादित भेरोसेल, भारतमा उत्पादित कोभिशिल्ड, अमेरिकन जोनसन एण्ड जोनसन खोप, जापानले अष्‍ट्राजेनिका र  भुटानबाट ल्याइएको अष्‍ट्राजेनिका खोप लगाइएको छ । केही साताअघि अमेरिकाबाट फाइजरको खोप समेत ल्याइएको छ । उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई लगाइने भएको छ ।