सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

जनकपुर उपमहानगरले फोहोर नउठाए मेयरलाई कालोमोसो दल्ने चेतावनी

सरसफाइ शीर्षकमा करोडौं रकम भ्रष्टाचार गरेको आरोप

जनकपुरधाम - दिपावली पर्व नजिकिए पनि फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरू संयुक्त विरोध प्रदर्शनमा उत्रिएका छन् । महिनौंदेखि ताकेता गर्दा पनि मेयर लालकिशोर साहले फोहोर व्यवस्थापनमा बेवास्ता गरेको भन्दै उपमहानगरपालिकाका दर्जन बढी वडाध्यक्षहरू संयुक्त रूपमा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका उनीहरूले मेयर साहको निवासअगाडि फोहोर थुपारेका छन् भने उपमहानगर कार्यालयमा पनि फोहोर थुपार्ने प्रयास गरेका थिए । सो क्रममा उनीहरूलाई प्रहरीले अवरोध गरेपछि कार्यालयअगाडि सडकमै फोहोरको गाडी राखेर धर्ना दिएका छन् ।

उपमहानगरको कार्यालयअगाडि शिवचोक–भानुचोक जोड्ने अतिव्यस्त सडकमा फोहोर बोकेको ट्याक्टर राखेर सडक जाम गरी धर्नामा बसेको कारण बिहानैदेखि घण्टौंसम्म सकड अवरुद्ध भएको थियो । फोहोर व्यवस्थापनका लागि पटक–पटक ताकेता गर्दा पनि मेयर साहले आश्वासन मात्र दिएकाले आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले बताए ।

‘मेयरले आफ्नो निवासअगाडिको सडक दिनमा तीन, तीन पटक सरसफाइ गर्दै टिलिक्क पारेका छन् तर नगरमा थुप्रिएको फोहोरलाई बेवास्ता गर्दै आएकाले हामीले उनको निवासअगाडि फोहोर थुपारेका हौं, अब उपमहानगरको कार्यालयमै थुपार्नेछौं,’ उनले भने, ‘थुप्रिएको फोहोरले वडाका विभिन्न स्थान दुर्गन्धित हुँदा स्थानीयबाट गाली खानुपरेको छ ।’ 

वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले फोहोर व्यवस्थापनको नाममा मेयर साहले प्रत्येक वर्ष करोडौं रूपैयाँ खर्चिंदै आएको बताउने तर फोहोर व्यवस्थापन कागजमै सीमित गरेको बताए । ‘फोहोर व्यवस्थापनलाई कागजमै सीमित गरेर यो शीर्षकको रकम मेयरले भ्रष्टाचार गरेका छन् । अब पनि फोहोर उठाइएन भने मेयरलाई कालोमोसो दल्नेछौं,’ उनले भने । 

फोहोर व्यवस्थापन मात्रै होइन दिपावलीका लागि नगरमा बिजुली बत्ती व्यवस्थापन गर्न करिब ६ करोड रूपैयाँ छुट्याइए पनि वडाहरूमा ५० वटाको दरले बल्ब मात्र उपलब्ध गराई बाँकी रकम मेयरले कागजमा मिलान गरेको वडा नम्बर १ का अध्यक्ष शत्रुधन साहले आरोप लगाए ।   

फोहोर व्यवस्थापनका नाममा वर्षेनी ४ करोडभन्दा बढी रकम खर्चिइँदै

उपमहानगरले फोहोर व्यवस्थापनका नाममा प्रत्येक वर्ष ४ करोडभन्दा बढी रकम खर्च गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । यस वर्ष पनि फोहोर व्यवस्थापनका लागि करिब ८ करोड रूपैयाँ छुट्याएको छ । तर ल्यान्डफिल्ड साइट आभावमा ४ महिनादेखि उपमहानगरको सडकमै फोहोर थुपारेर राखिएको छ । फोहोर व्यवस्थापन नभएसम्म आफूहरू चरणबद्ध रूपमा आन्दोलनमा रहने वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साहले बताए ।

‘ल्यान्डफिल्ड साइटको आभावमा फोहोर व्यवस्थापनको समस्या वर्षौदेखि रहेको छ । उपमहानगरको भोइलमा ल्यान्डफिल्ड साइट निर्माणका लागि दुई वर्षअघि ४८ करोड रूपैयाँ विनियोजन गरियो तर कमिशन नमिल्द बजेट फ्रिज भएको छ,’ उनले भने ।

केही महिनाअघिसम्म उपमहानरले पटक–पटक बजार क्षेत्रबाहिर नगरका खाली ठाउँमा फोहोर फाल्दै आएकोमा स्थानीयले विरोध गरेपछि करिब ४ महिनादेखि उपमहानगरले प्रमुख बजार क्षेत्रमा रहेको अतिथि सदनमा फोहोर थन्काउँदै आएको छ । विशिष्ट अतिथिहरू राख्ने र शुभकार्य प्रयोजनका लागि प्रयोग गरिने सो सदनमा उपमहानगरले फोहोर थुपारेपछि स्थानीय उद्योगी, व्यवसायी र सर्वसाधारणलेसमेत विरोध जनाएका छन् ।