मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

प्रधानमन्त्रीले प्रधानन्यायाधीशसँग 'सेटीङ' गर्दा सर्वोच्च ध्वस्त भयोः पौडेल

हेटौंडा- देशको प्रधानमन्त्रीले प्रधानन्यायाधीशसँग सेटीङ गर्दा सर्वोच्च अदालत  ध्वस्त भइरहेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । देशका अन्य संवैधानिक निकायहरु ध्वस्त भएपनि जनतालाई न्याय दिने अन्तिम सर्वोच्च अदालत नै ध्वस्त भएको पौडेलले बताएका हुन् ।  

 मंगलबार कांग्रेस मकवानपुरले आयोजना गरेको दीपावली, छठ तथा नेपाल संम्बतको शुभकामना आदानप्रदानमा बोल्दै पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति  शेरबहादुर देउवा माथिसमेत आक्रोश पोखेका छन् । 

उनले भने, 'तँलाई यो राजदुत दिन्छु, यो आयुक्त दिन्छु ल मेरो कुरा मान, संवैधानिक परिषद्को ऐन फेरेको पनि मान, संवैधानिक परिषद्लाई ध्वस्त पारेको, संविधानको आत्मामाथि प्रहार गरेको त साक्षी बसिदे भनेर प्रधान्यायाधीशसँग प्रधानमन्त्रीले सेटीङ गरेका हुन् ।  सेटीङको समस्याले आज सर्वोच्च अदालतको यो अवस्था आयो ।'  

नैतिकताको अधिकार नै गुमाएर नेतृत्व गर्ने भन्दै सभापति देउवालाई उनले ब्यङ्ग्यसमेत गरे । 'जबरजस्ती कृत्रिम नेतृत्व गर्ने, देशमा यत्रो परिवर्तन आइसक्यो । परिवर्तनको विपरित आचरण र बल देखाएर नेतृत्वमा हावी भइरहने', उनले भने । 

तीना महिनासम्म मन्त्री बनाउन नसक्ने, पार्टीको क्रियाशील सदस्यता विवाद अहिलेसम्म टुंगो लगाउन नसकेको भन्दै पौडेलले पार्टीको नेतृत्वमाथि प्रश्न उठाए ।  कांग्रेसलाई यो विकृती र अर्निर्णयको बन्दीबाट मुक्त गर्नुपर्ने उनले बताए । 

पौडेलले नेपाली कांग्रेसलाई रुपान्तरणको आवश्यकता भएको बताएका छन् । 'कांग्रेसलाई अहिले पुस्तान्तरण नभएर रुपान्तरण गर्नुपर्ने आवश्यकता छ', उनले भने ।