शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढ्‍यो

बेइजिङ स्थित नेपाली दूतावासमा दोस्रो र तेस्रो वरियाताका व्यक्ति समेत छैनन्

काठमाडौँ- शक्ति मुलुक अमेरिका, छिमेकी भारत र पुरानो मित्र मुलुक बेलायतका लागि प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरू श्रीधर खत्री (अमेरिका),  शंकर शर्मा (भारत) र  ज्ञानचन्द्र आचार्य (बेलायत) विरुद्ध १० दिने उजुरी आह्वान गर्दै त्यस्तो प्रक्रिया अघि बढाएको हो । 

कात्तिक ११  मा बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तका लागि सिफारिस गरेका तीनै जना प्रस्तावित राजदूतविरुद्ध सुनुवाइ समितिले उजुरी आह्वान गरेको हो । उजुरीको १० दिने म्याद दिइएको छ । उक्त म्याद बुधबार पत्रिकामा सूचना प्रकाशन पछि लागू हुनेछ । 

उक्त समयभित्र उजुरी आएमा वा नआएमा उनीहरूलाई उपस्थित गराएर समितिका सांसद्हरूले छलफल गरी प्रस्तावित राजदूतको नाम अनुमोदन गर्ने निर्णय लिनेछ । यसरी अनुमोदन भएपछि उनीहरूको नाममा सम्बन्धित मुलुकमा अग्रिमा (सहमाति)का लागि पत्र पठाइन्छ । उक्त अग्रिमा आएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरी शपथ खुवाइ सम्बन्धित मुलुक पठाउने प्रावधान रहेको छ । 

सरकारले राजनीतिक मागवण्डाको आधारमा भए पनि राम्रा र काविल व्यक्तिलाई राजदूतमा सिफारिस गरेको छ । यद्यपि अर्को छिमेकी चीन र अन्य शक्ति राष्ट्रहरूमा पनि राजदूत नियुक्त गर्न सरकार चुकेको छ । त्यस्ता स्थानमा पनि बीचारको आधारमा राजदूत नियुक्त नगरी काविल र योग्य व्यक्तिलाई पठाउन सरकार लागि पर्नुपर्छ । चीनमा दोस्रो तह र तेस्रो तहको व्यक्ति समेत नभएको अवस्थामा सरकारले नियुक्ति सिफारिसमा ढिलाइ गर्न हुँदैन । 

सरकारले तत्काल चीन सहित २० स्थानमा राजदूत सिफारिस गर्न पर्नेछ । त्यसतर्फ सरकारको ध्यान गएको भए पनि राजनीतिक भागवण्डा नमिल्दा समस्या भएको छ । राम्राभन्दा पनि सबै आफ्ना व्यक्ति बनाउन हिडेका छन् । तर, देउवाले त्यसमा ध्यान दिने भएका छन् । जो पाए त्यहीलाई राजदूत बनाउन नसक्ने बताएका छन् । कूटनीतिक विषयमा गम्भीर देउवाले पक्कै यस्ता विषयमा ध्यान दिने विश्वास रहेकाले नै गठबन्धनले नाम दिन ढिलाइ गरेका हुन् ।