शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

कुम्भ मेलामा देउवाको हाँसो र अनौपचारिक भेटवार्ता

काठमाडौँ- शक्ति मुलुक अमेरिकाका राष्ट्रपति जो वाइडनसँग प्रधानमन्त्री शेरबहादुर देउवाले अनौपचारिक भेटमै निकै लामो हासो चल्यो । गम्भीर देखिने देउवा निकै हाँसे । वाइडन पनि फिस्स हास्दै देउवासँग उभिएर गफिए । सँगै तस्बिर खिच्न लगाए । जसले गर्दा देउवामा एक प्रकारको आत्मविश्वास बढेको देखिन्छ । 

विश्व जलवायुको महाकुम्भ मानिने कोप–२६ मा सोमबार राती विश्व नेताहरूको लागि राखिएको रिसेप्सनमा त्यो दृष्य देखिएको सँगै रहेका एक जनाले जानकारी दिए । यद्यपि त्यहाँ सबैलाई सहभागी गराइएको थिएन । विश्वमा नेताहरूको उक्त भेलामा नै देउवालाई कसैले ‘मिस्टर प्राइमिनिस्टर अफ नेपल’ भन्दै बोलाएका समेत थिए । पाँचौ पटक प्रधानमन्त्री भएका देउवा सबैसँग उत्तिकै घुलमिल भएका थिए । 

कतै न कतै उनीसँग ठोकिएका व्यक्तिहरू नै त्यहाँ भेटिएकाले उनलाई सहज भएको हो । सम्मेलनअन्तर्गत विश्व नेताहरूको भेलाको पहिलो दिन बेलुका ग्लास्गोस्थित आर्ट ग्यालरीमा राखिएको उक्त रिसेप्सनमा बेलायती राजपरिवारका सदस्यको पनि उपस्थिति थियो । प्रधानमन्त्री देउवाले अनौपचारिक रुपमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, जर्मन चान्स्लर एंकेला मर्केल, अमेरिकी राष्ट्रपति बाइडन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत दर्जन बढीसँग भलाकुसरी गर्न भ्याएक थिए । 

देउवाले बेलायती राजपरिवारका सदस्यहरूसँग पनि त्यहाँ भेटघाट गरेका थिए । अनौपचारिक रुपमा भए पनि खुलेर कुराकानी भएको सहभागीले जानकारी दिएका छन् । प्रधानमन्त्रीले पनि आफ्नो टिमलाई उक्त रिसेप्सनमा भएको सबै विषय सुनाएर मंगलबार विहानको भेटवार्ता तय गरेका हुन् । 

अमेरिकी राष्ट्रपपति बाइडनसँगको भेटमा निकै जोली मुडमा कुराकानी भएको तस्बिरले नै देखाउँछ । लामो हाँसो, आगामी दिनमा गर्न पर्ने सहकार्य लगायत त्यहाँ देखिन्छ । अमेरिकासँग नेपालले अहिले जलवायुको विषयमा मात्र छलफल गरेको भए पनि वास्तविक रुपमा अन्य सहकार्य र विषयमा पनि छलफल भएको जनाइएको छ । 

कतिपय राष्ट्र एवं सरकार प्रमुखले प्रधानमन्त्री देउवासँग नेपालको राजनीतिक अवस्थाको बारेमा पनि अनौपचारिक छलफल गरेका थिए । द्वन्द्व पनि शान्ति वार्ता हुँदै दुई पटक संविधान सभाको निर्वाचन भएको स्मरण पनि भएका थिए । दोस्रो संविधान सभाबाट संविधान बनेको थियो । त्यसअनुरूप निर्वाचन भएको सरकारले पाँच वर्ष सरकार चलाउन नसकेको र प्रमुख प्रतिपक्षमा रहेको नेताले नै सरकारको नेतृत्व गरेको विषय पनि ठट्टा भएको थियो । 

देउवा पाँचौ पटक मुलुकको प्रधानमन्त्री भएको विषय चर्चा हुँदै बेलायत नेपाल सम्बन्ध र आगामी दिनमा हुने भ्रमणको बारेमा पनि बहस भएको थियो । अधिकांश नेताहरूले नेपालमा लोकतन्त्र हुर्कदै गरेको विषय उठाएका थिए । नेपालमा हुर्कदो लोकतन्त्रबाट नै यसको विकास हुने उनले बताए । कोप–२६ सम्मेलनकै क्रममा देउवाले राष्ट्रपति बाइडेनका जलवायु विशेष दूत जोन केरीदेखि अन्य सम्बन्धित नेताहरूलाई भेटिरहेका छन् । 

उनले साइडलाइनमा अधिकतम भेटघाट गरिरहेका छन् । उनले छिमेकी समकक्षी नरेन्द्र मोदी मात्र होइन सहजै भेट नहुने नेताहरूलाई पनि भेटिरहेका छन् । उनीसँगै रहेको परराष्ट्रका टिमले पनि भविष्यमा नेपाललाई आवश्यक पर्ने मुलुक र अहिले रहेको मित्र मुलुकका राष्ट्रपपति, सकमक्षी र मन्त्री लगायतलाई भेटाउने काम भएको छ । एक सय ४० मुलुकका भेटरान नेताहरू जम्मा भएको उक्त महाकुम्भमा देउवाले आफना पुराना मित्रहरूसँग रिन्यू र नयाँ मित्रसँग परिचय गर्ने अवसरको रुपमा उपयोग गरे । 

देउवाको त्यहाँ भएको साइडलाइन भेटवार्ता कति उपयोगी हुन्छ भन्ने विषय उनी नेपाल फर्केपछि ति नेताहरूले देखाउने कार्यले स्पष्ट पार्नेछ । उनी फर्के लगत्तै मोदीको नेपाल भ्रमण भयो, उनी भारत भ्रमणमा गए भने एक तहमा उनले भ्रमणमा दुईपक्षीय मामिलामा सफलता हासिल गरेको मान्न सकिन्छ । त्यस्तै उनी त्यसपछि अन्य मुुलुकको भ्रमणमा गए भने पनि त्यो तहको रुपमा लिन सकिन्छ । अन्यथा त्यो कुम्भमेला एक मेलाको रुपमा नै रहने छ, हाम्रा लागि ।