आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

किसानलाई तिहारमा अलैँची भित्र्याउन चटारो

फुङ्लिङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आएका छन् । 

फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करिब १३ मनसम्म अलैँची बिक्री गर्दै आएका छन् । 

तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम सुरु भएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताउँछन् । 

'बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैँची टिप्न चटारो हुन्छ', राईले भने । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ । तर पनि यो खेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको  ६१ वडामा गरिँदै आएको छ । अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए । 

उनले भने, 'भूगोल अनुसारको जातको अलैँची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ ।' कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैँची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन् । अलैँची बिक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैँचीको दाना र बेर्ना बिक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैँची बिक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरिद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैँची लगाउन थालेका छन् ।  
रासस