बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

बसको छतको यात्रादेखि जीपलाइनसम्म

नयाँ नयाँ सजाऔँ है संसार, सुख दुःख बाँडौँ है मिलेर...
धुलिखेलको बुटिक होटलमा टहलिँदै युटुबमा गित सर्च गर्ने क्रममा साइनोको यो गीतले मलाई अतीततिर दौडाएको छ । साइनोका भुवन केसी र तृप्ति टोटलानी बसको छतमा बसेर यो गीतमा रमाइरहेको दृश्यबाट फ्ल्यासब्याकमा मेरो अतीतले मलाई तरङ्गित बनाइरहेको छ । यो गीतको केही दृश्यमा लामोसाँघु जिरी सडकको यात्रा पनि देखिएकाले मेरो विगत कर्कलाको पातमा टिलपिलाएका पानीका थोपाझैँ बनेका छन् ।

एसएलसी उत्तीर्ण गरेर २०४५ सालमा कलेज पढ्न काठमाडौँ गएपछि चरिकोट–काठमाडौँको यात्रा बाक्लिँदै गयो । मिनीबसबाट सुरु भएको मेरो यात्रा २०४६/०४७ तिर आइपुग्दा ठूलो गियरवाला लामो बसमा रुपान्तरण भएको थियो । सिन्धुपाल्चोकको खाडिचौरबाट उकालो लागेपछि थुप्रै मोडसहितको साँघुरो बाटोमा त्यो लामो बसमा यात्रा गर्नु कम्ता जोखिम थिएन । 

जोखिम जस्तोसुकै होस्, बानी कस्तो भने बसका सिटहरु खाली नै भए पनि छतमा बसेर अगाडिपट्टि खुट्टा झारेर हावासँग सुरम्य स्पर्शसहितको यात्रा नै चाहिने । लामो बस साँघुरो घुम्तीहरुमा ब्याक नगरी गन्तव्य पहिल्याउन सम्भनै हुँदैन थियो । अनि छतको बसाइमा बसले ब्याक गियर हाल्दा मन नै सिरिङ्ग हुनेगरी खसेखसेझैँ बनाउने । 

साँघुरो घुम्तीमा बसको ब्याक गियरले एकैछिन मन आत्तिए पनि चिसो सिरेटोमा मनलाई अलौकिक आनन्दको परिकल्पनामा विचरण गराउँदै सुन्दर प्राकृतिक दृश्यावलोकनसहितको त्यो यात्रा अर्को पटकका लागि पनि परिवर्तन गर्नै नसकिने । 

प्रहरी प्रशासनको निगरानीका कारण बसको छतमा चढेर यात्रा गर्ने मेसो मिलेन भने चालकसँगै गियर बक्स माथि बसेर घुम्तीहरुमा गोलो बडेमाको ह्यान्डिल घुमाउन सघाई लाग्दाको सम्झना पनि कति सुखद लाग्छ । अझ दसैँतिहारको यात्राको त कुरै नगरौँ । बसको सिटमात्र हैन, छत पनि खचाखच । यो बेला प्रहरीले पनि नदेखेझै गरिदिने भएकाले निर्धक्क खुट्टा झारेर हात हल्लाउँदै साथीहरुसँग दोहोरी गाएर छतमा रमाउनुको मजै अर्को ।  

युट्युबले बल्झाएको मेरो अतीत बुटिक होटलका सञ्चालक सुशील ब्याञ्जुको अतीतसँग मेल खाएको छ । त्यतिबेलाका जुत्ता चप्पलका व्यवसायी उनले पनि काठमाडौँ–चरिकोटको यात्रामा बसको सिट हैन छतलाई नै रोज्ने गरेका रहेछन् । ब्याञ्जुजी र मेरो यात्रा संस्मरणले होटल बुटिकका सहयात्री पत्रकार मोतिराम तिमल्सिना, जीवन लामा, गोकर्ण भण्डारी र नरेन्द्र अधिकारीलाई कुनै अर्कै ग्रहको दैनिकी वर्णन गरेझैँ लागेको भान उनीहरुको अनुहारको भावमा पढिरहेका थियौँ ।  

दोलालघाटबाट खोलाको तीरैतीर पानीका छालहरुसँग लुकामारी गर्दै अगाडि बढेर खाडीचौरमा बोइलर कुखुराको मासुसँग भात खाँदाको स्वाद अहिले पनि जिब्रोको कुनै कुनामा बसिरहेको छ । खाडीचौर बजारमा चिनियाँ सामानको किनमेल र पुलको छेउमा पुगेर गर्मी छल्दै पसिना पुछेको याद पनि ताजै लाग्छ । खाडिचौरको उकालोले मुडेको पहाड नभेट्दासम्म छतको बसाइँको जोखिम अहिले अनुमान गर्दा निधारबाट पसिना चिटचिटाउँछन् । 

पहाडको कुना कन्दरा र हिमालको उज्यालो दृश्यसँग लुकामारी खेल्दै हावाका झोकाहरुलाई शरीरका प्रत्येक अङ्गहरुले गरेको स्र्पशको बखान गरिरहँदा बुटिक होटलका सञ्चालक सुशील ब्यञ्जुजी जति उत्साहित र उत्तेजित बन्दै जान्थे बुटिकका सहयात्री पत्रकार साथीहरू त्यति नै जिज्ञासु र चकित पर्दै जान्थे । त्यतिबेलाको सडक, बस र यात्रुको चाप । साँच्चै छतको यात्रा रोमाञ्चक मात्र थिएन, अत्यन्तै जोखिम र साहसिक पनि थियो ।

बुटिकका सञ्चालक सुशील ब्यञ्जुजी र मेरो संस्मरणको एउटा संयोग यो समयले जुराइदिएको छ । हामीले त्यतिबेला अलिकति रहर, अलिकति बाध्यता र अलिकति बहकाउमा बसको छतमा बसेर गरेको यात्रा सहज लाग्ने साहसिक र जोखिमको यात्रा थियो । जसको संस्मरण हामीले चाहेर या नचाहेरै बडो उत्साहित र उत्तेजित हुँदै गरिरहेका थियौँ । 

हाम्रोे धुलिखेल बसाइको लक्ष्य आधुनिक साहसिक खेल जीपलाइनमा सहभागी हुनु थियो । जीवन लामाले बसको छतमा रमाउँदै साहसिक यात्रा गरे कि गरेनन् तर उनकै कुतकुतीमा हामी धुलिखेलको जीपलाइनतिर दौडिएका थियौँ । समय हेर्नुस् त, उतिबेला बसको छतमा चढेर हामी साहसिक बाध्यतामा हेलिएका थियौँ, अहिले हेर्दै आतेस लाग्ने जीपलाइन जस्तो साहसिक खेलमा चरम आकांक्षालाई पूरा गर्न सहभागी भइरहेका छौँ । 

अब हामी चाहेर पनि बसको छतमा यात्रा गर्न सक्दैनौँ । त्यो प्राकृतिक साहस अब रोमाञ्चक संस्मरणमा मात्र सम्भव छ । दुर्घटना धेरै बढेपछि बसका छतहरु हटाइएका छन् । लामो बसको सट्टा आधुनिक हाइड्रोलिक गियरवाला सानो बसहरु सञ्चालनमा छन् । अझ भनौँ, दोलखा झर्ने अधिकांश यात्रुहरुको कि त आफ्नै सवारी साधन भइसकेको छ कि सुमो र माइक्रोमा यात्रा गर्न रुचाउँछन् । अब धुलिखेलको बुटिक होटलका सञ्चालक सुशील ब्याञ्जुले बसको छतमा बसेर यात्रा गर्ने कुरा उतिबेलाको संस्मरणमा मात्र सीमित हुनेछ ।  

तर कृत्रिम साहसिक खेलहरुले पनि हामीलाई मानव जीवनप्रतिको समर्पण र उत्साह थप्ने काम गरेको छ । धुलिखेलमा जीपलाइन सञ्चालन गर्ने सिन्धुपाल्चोकका व्यवसायी केदार थापा धन्यवादका पात्र छन् जसले यो साहसिक खेल सुरु गरेका छन् । 

उतिबेलाको रहरको जोखिमलाई सम्झिएर जीपलाइनका लागि अगाडि बढेका मेरा पाइलाहरु अलिअलि काँपिरहेका थिए । मुटुको ढुकढुकीलाई सकेसम्म हातले रोक्ने प्रयेत्न गरेको भए पनि अनुहारको रातोपिरो भावले मेरो डर साथीहरुसँग लुकेको थिएन । अझ हामीसँगै जीपलाइनमा तैरिन बुटिक होटलबाट कस्सिएर अगाडि बढेका पत्रकार नगेन्द्र अधिकारी त दर्शकमात्र भएर बसे । तर मैले मभित्रको त्रास र आतेसमा पनि लज्जाबोध भने गरिनँ किनभने जीपलाइनका सहयात्री मोतिराम, जीवन र गोकर्णको अनुहारको भाव पनि आतेसकै प्रतिविम्ब थियो । जीपलाइनको डोरीमा हुइँकिन फलामको भर्‍याङ चढ्दै गरेको उनीहरुको खुट्टा पनि सुषुप्त ढङ्गले काँपिरहेका थिए । अझ भनाँै, जीपलाइनका लागि पुगेका अधिकांश साथीहरुको अनुहारको भाव र खुट्टाको चाल हाम्रो भन्दा भिन्न थिएनन् । जीपलाइनमा दुईपटक विचरण गरिसकेका एकजना अनलाइन खबरका पत्रकार मित्रले भने हामीलाई हौसला दिइरहेका थिए । उनको हौसलाले हामीलाई केही ताकत मिलेको थियो । 

अझ मैले त साहस गरेर उनीहरुको अगाडि भनिदिए– डराउनु पर्दैन साथीहरु पहिले म यो डोरीमा हुइँकिन्छु । अहिले सम्झन्छु त्यतिसम्मको साहसका लागि बसको छतमा गरेको विगतको यात्राले पो बल मिलेछ कि ! जेहोस् त्रासमै भए पनि अगाडि बढेका हाम्रा पाइलाहरुले गन्तव्य पहिल्याएरै छोड्यो । 

एक मिनेटको त्यो आकाशे विचरणमा मैले सत्य युगका देवी देवताको कहानी याद गरे । डोरीमा बाँधिएर माथि आकाशमा उड्दै पृथ्वीलाई नियाल्दा सडकका घुम्ती, घरहरुका बान्की, खेतका गराहरु र हरियालीले मन नै फुरुङ्ग बनाउने । सायद स्वर्ग यस्तै हुन्छ होला । स्वस्थानी व्रत कथामा उल्लेख गरिएको विमान यसैगरी गन्तव्यतिर लाग्थे होलान् । आहा ! त्यो पल, कति सुखद थिए होलान् । अहिलेको जस्तो धुवाँ र धुलोको त्रास अनि प्रकृतिको अव्यवस्थित क्षयीकरण त पक्कै थिएन होला । खुला आकाश र भरिला हिमशृङ्खला, टम्म मिलेका वनस्पति र थरीथरीका फूलहरू, कति अलौकिक थिए होलान् हाम्रो पृथ्वी ।

नेपालको धेरै ठाउँमा अहिले बन्जी जम्पिङ, जीपलाइन, प्यारा ग्लाइडिङ जस्ता साहसिक खेलको विकास र विस्तार भएका छन् । पोखरा, पर्वत, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा सुरु भएको यस्ता साहसिक खेलले आन्तरिक एवं बाह्य पर्यटकलाई भरपूर मनोरञ्जन दिएको छ । साहसिक खेलसँगै परम्परागत स्वादका आधुनिक होटल तथा रेस्टुरेन्टहरुको विकाससमेत भएका छन् । जुत्ता चप्पलका होलसेल व्यवसायी सुशील ब्यञ्जुजी अहिले त्यसलाई छोडेर होटल व्यवसायमा होमिएका छन् र सफल बन्दै पनि गएका छन् ।

यो मुलुकको आर्थिक विकासका लागि व्यवसायीहरुको नयाँ नयाँ प्रयोग पक्कै पनि महत्वपूर्ण प्रयास हो । यसको व्यवस्थापन र विस्तारमा सरकारले समेत ध्यान दिने हो भने आर्थिक विकाससँगै मुलुकको ठूलो हिस्साले बदलिँदो यो समयमा पनि विगतका सुखद् संस्मरणलाई आधुनिक प्रविधिमार्फत सहजै ताजा राख्ने सक्ने थिए । अनि विदेशी पर्यटकहरूले पनि पहाड र हिमालै हिमालले घेरिएको हाम्रो देशमा साहसिक खेलमा रमाउँदै आफ्नो मुलुक फर्किएर अनन्तः अन्तकालसम्म नेपाल पुकार्ने थिए ।