मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

सत्ता गठबन्धन लोकतन्त्रको भक्षक: अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाएका छन् । एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा ओलीले सत्ता गठबन्धनले मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको भन्दै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाएका हुन् ।

उनले भने, 'सत्ता गठबन्धनमा आबद्ध दलहरू लाेकतन्त्रका भक्षकहरू हुन्, भक्क्षीहरू हुन्'। ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको टिप्पणी गरे । 

अब पनि अनेक प्रतिगामी परमादेश आउन सक्ने भन्दै उनले एमालेले मुलुक र लोकतन्त्रलाई तलमाथि हुन नदिने बताए । एमाले नभएको भए १७ साल दोहोरिने खतरा देखिएको उनले तर्क गरे । उनले एमालेका लागि सरकार नभएर मुलुक पहिलो प्राथमिकता भएको स्पष्ट पारे । 

एमाले अध्यक्ष ओलीले बाबुराम भट्टराई भूमिगत हुँदा उनका छोराछोरी बेलायत पढ्न गएको भन्दै आम्दानी र भिसाका बिषयमा प्रश्न उठाएका थिए । उनले अहिले विभिन्न स्थानमा एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै एमाले अब सशक्त भएर अघि बढ्ने दाबी गरे ।