मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

ओलीलाई भट्टराईको चुनौती : मानुषी बेलायत पढ्न गएको प्रमाणित गर्नोस् न !

फाइल तस्‍बिर

काठमाडौँ - पूर्व प्रधानमन्‍त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मानुषी बेलायत पढ्न गएको प्रमाणित गर्न चुनौती दिएका छन् । ओलीले भट्टराई भूमिगत हुँदा मानुषी बेलायत पढ्न गएको भन्दै आम्दानी र भिसाका विषयमा प्रश्न उठाएपछि भट्टराईले यस्तो चुनौती दिएका हुन् ।

जसपा स‌ंघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन र उडन्ते कुरा गर्नु शोभनीय नभएकोसमेत टिप्‍पणी गरेका छन् । 'मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन, उडन्ते कुरा गर्नु शोभनीय भएन,' ओलीलाई जवाफ दिँदै ट्वीटरमा उनले लेखेका छन्, 'हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला संगै गएर संगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न!'

आइतबार एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले काठमाडौँमा गरेको कार्यक्रममा ओलीले बाबुराम भट्टराई भूमिगत हुँदा उनका छोराछोरी बेलायत पढ्न गएको भन्दै आम्दानी र भिसाका बिषयमा प्रश्न उठाएका थिए ।