बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

संविधान विरोधी र अलोकतान्त्रिक कार्य : तीन दल

काठमाडौँ : मुख्य तीन राजनीतिक दलले सरकारको प्रतिनिधि सभा विघटन गर्ने कार्य संविधान विरोधी र अलोकतान्त्रिक भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा का‌ग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको सत्तारुढ दल नेकपा, प्रतिपक्षी दल कांग्रेस र जनता समाज पार्टीका शीर्ष नेताहरूको बैठकले त्यस्तो ठहर गरेको हो । 

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुध्द सबै राजनीतिक दल एकताबध्द भएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए । ‘हिजो राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको संसद् विघटनलाई सबै दलले संयुक्त रुपमा संविधान विरोधी र अलोकतान्त्रिक ठहर गरेका छौं,’ प्रवक्ता श्रेष्ठले बैठकपछि भने, ‘हामी सबै राजनीतिक दल उक्त कदमको विरुध्दमा छौं । अब एकताबध्द भएर संसद्लाई पूनर्जीवित गर्ने साझा धारणा हाम्रो छ ।’

संयुक्त रूपमा एकबध्द भएर कसरी जाने भन्नेमा छलफल केन्द्रित रहेको उनले बताए । सबै दलले केन्द्रीय कार्यसमिति बैठक बसेर थप रणनीति तय गर्ने उनले बताए । म‌ंगलबार तीन वटै पार्टीले आ-आफ्ना केन्द्रीय कार्यसमितिका बैठक बोलाएका छन् । ती बैठकपछि थप निर्णयका लागि पुनः बैठक बस्‍ने सहमति दलहरूबीच बनेको छ । 

नेपाली का‌ग्रेसका नेता बालकृष्ण खाणले प्रतिनिधि सभा विघटन गर्ने सरकारको संवैधानिक कदमविरुध्द तीन वटै पार्टी एकताबध्द भएर अगाडि बढ्ने समझदारी भएको बताए । 'सरकारको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमविरुध्द एक भएर कानुनी र राजनीतिक प्रतिवाद गर्ने सहमति बनेको छ,' खाणले भने । 

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू खाण, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ, पम्फा भुसाल, वर्षामान पुन र कृष्णभक्त पोखरेल तथा जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जितेन्द्र सोनाल सहभागी थिए ।