बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने तयारी

काठमाडौं : सत्तारुढ नेकपाका बहुमत केन्द्रीय सदस्यहरूले प्रधानमन्त्रीसमेत रहेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा चयन गर्ने तयारी गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा मंगलबार बस्‍ने केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट निश्काशन गरी नेपाललाई सहमतिमा अध्यक्ष घोषणा गर्ने तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

दाहाल-नेपाल समुह र ओली समूहले फरक-फरक स्थानमा मंगलबार नै केन्द्रीय समिति बैठक बोलाएका छन् । ओली समूहले बालुवाटारमा लन्चसहित बिहान नौ बजे बैठक बोलाएको छ भने दाहाल-नेपाल समूहले कार्की पार्टी प्यालेस माइतिघरमा ११ बजे बैठक बोलाएको छ । बैठकलाई केन्द्रीय समितिमा को कता छन् भन्‍ने जाच्‍ने यो कडिमात्र नभएर निर्णायक कदमको रूपमा हेरिएको छ ।

दाहाल-नेपाल समूहमा कारबाही र जिम्मेवारी बाडफाडसहितको खाका तयार भएको र त्यही खाकामा अडेर छलफल हुने एक केन्द्रीय सदस्यले बताए । दाहाल र नेपाल दुवै कार्यकारी रहने गरि अध्यक्ष घोषणाको तयारी रहेको त्यस कार्यमा संलग्‍न ती सदस्यले बताए । अध्यक्ष ओलीलाई कारबाही गरेपछि रिक्त रहने अध्यक्ष पदमा नेपाललाई चयन गर्ने तयारी रहेको उनको भनाइ छ ।

त्यसको साथै अब के कस्तो कदम चालेर संसदलाई पूर्नजीवित गर्न सकिन्छ भन्‍नेमा पनि बैठकमा छलफल नेताहरू बताउँछन् । जसले गर्दा ओलीको अलोकतान्त्रिक कदमको धज्जी उड्ने मात्र होइन न्यायापालिकाको परीक्षणसमेत हुने उनीहररुले बताएका छन् । दाहाल-नेपाल समूहले अन्य राजनीतिक दलसँग छलफल गरेर नयाँ रणनीति तय गर्न निरन्तर बैठक गरिरहेको छ ।