मोटर साइकल हुइँक्याउने तन्नेरीहरू दुर्घटनाको सिकार हुँदै
दुई वर्षमा २७ हजार ९ सय ५६ मोटरसाइकल दुर्घटना

काठमाडौँ - दसैँ सकिए लगत्तै सुदीप बस्याल र उनका पाँच–छ जना साथी बुटवलबाट शे–फोक्सुन्डोतिर लागे । ब्याचलर्स गर्दै गरेका २२ वर्षीय सुदीप कलेज बिदाको सदुपयोग गर्न साथीसँग घुमघाममा निस्किएका थिए । शे–फोक्सुन्डोबाट फर्किंदै गर्दा सुर्खेतमा सुदीप र उनको परिवारले नसोचेको घटना बेहोर्नुपर्यो । उनी मोटरसाइकल दुर्घटनामा परे । मोटरसाइकल उनको मिल्ने साथीले चलाएका थिए । उनी तिनै साथीको पछाडि बसेर घुम्न गएका थिए । दुर्घटनामा मोटरसाइकल चालक साथीको खुट्टामा गम्भीर चोट लाग्यो । सुदीपले भने ज्यान गुमाए ।
यो घटना घटेको एक हप्ता भयो । सुदीपको परिवार अहिले शोकमा छ । सुदीपका दाइ केशव बस्यालका अनुसार सुदीपका साथी अहिले अस्पतालमा छन् । ‘सुदीपको त घटनास्थलमै ज्यान गयो,’ उनी भन्छन्, ‘उसलाई हामीले अस्पतालसम्म पनि लैजान पाएनौँ । अहिले हामी केही बोल्न सक्ने अवस्थामै छैनौँ ।’
ललितपुर, बालकुमारी बस्ने अनिशा सिटौलाको यो तिहार निकै खल्लो भयो । अघिल्लो तिहारमा भाइटिका लगाएर उनका दाजु अनिश मुस्ताङ घुम्न निस्किएका थिए । मोटरसाइकलमा साथीहरूसँग मुस्ताङ गएका अनिश कहिल्यै नफर्किने गरी परिवारबाट बिदा भए । तिहारकै दिन आफ्नो हातबाट सप्तरंगी टिका लगाएर सकुशल घरबाट निस्किएका दाजु कहिल्यै नफर्किने गरी जालान्, अनिशाले सोचेकी थिइनन् । तर, दाइ मोटरसाइकल दुर्घटनामा परेको जानकारी जब उनको फोनमा आयो, उनले न आफूलाई सम्हाल्न सकिन्, न परिवारलाई । घटना घटेको वर्ष दिन बित्यो । तर, अनिशको परिवार अहिले पनि शोकमा छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांकअनुसार सवारी साधनमध्ये सबैभन्दा धेरै दुर्घटनामा पर्ने साधन मोटरसाइकल हो । प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा १० हजार ८ सय ६९ मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १७ हजार ८७ मोटरसाइकल दुर्घटनामा परेका छन् । यी दुई आर्थिक वर्षमा मात्रै २७ हजार ९ सय ५६ मोटरसाइकल दुर्घटनामा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा मात्रै यो दुई आर्थिक वर्षमा १५ हजार १ सय ८ मोटरसाइकल दुर्घटनामा परेको तथ्यांक छ । महाशाखाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी छन् । महाशाखाले दुर्घटनाको प्रमुख कारणमा चालकको लापरवाही र तीव्र गति भएको निष्कर्ष निकालेको छ ।
दुर्घटना निरीक्षक केपी शर्मा युवापुस्तामा सो–अफको प्रचलन निकै बढेकाले मोटरसाइकल दुर्घटनाको संख्या वर्षेनी वृद्धि भएको बताउँछन् । ‘अहिलेको जेनेरेसन आफ्नो उमेरले नै धान्न नसक्ने ठूला र महँगा बाइक चलाउँछन्,’ उनी भन्छन्, ‘ती बाइक धेरै सीसीका हुन्छन् । दौडिने क्षमता बढी हुन्छ । जति एक्सिलेटर बटार्यो कुद्छ । यस्तो अवस्थामा उनीहरू कतिबेला दुर्घटनामा पर्छन् भन्नै सकिँदैन ।’
शर्मालाई सडकमा युवापुस्ताको बाइक रेस देखेर दुःख लाग्छ । ‘टेलिभिजनको रेस हेरेर वास्तविक जीवनमा रेस गर्न खोज्नेहरू दुर्घटनाको नजिक हुन्छन्,’ उनी भन्छन् ।
ट्राफिक व्यवस्थापनमा सफल मानिएका पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथू आफ्ना सन्तानले मोटरसाइकल कसरी चलाउँछन् भन्नेतर्फ अभिभावकले ध्यान नदिएको बताउँछन् । ‘छोराछोरीले मोटरसाइकल घरबाट निकालेको थाहा हुन्छ,’ उनी भन्छन्, ‘तर, उनीहरू कहाँ गए, कोसँग गए थाहा हुँदैन । यस्तो कुरामा अभिभावकको पनि ठूलो भूमिका हुन्छ ।’
दोस्रो कारण, उनी लाइसेन्समा भएको हेलचक्र्याइँले धेरै युवापुस्ता मोटरसाइकल दुर्घटनाको सिकार हुने गरेको बताउँछन् । ‘मोटरसाइकलको लाइसेन्स लिने बेलामा धेरैले पास गर्नका लागि मात्रै ट्राफिक नियम पढ्छन्, ट्रायल सिक्छन्,’ उनी भन्छन्, ‘ट्रायल सेन्टरमा पास हुनु भनेको सडकमा पास हुनु होइन । आठ घुमाएर लाइसेन्स लिँदैमा कोही दुर्घटनामा पर्दैन भन्न सकिँदैन ।’
दुर्घटना निरीक्षक शर्मा सडकमा मोटरसाइकल गुडाउने ४० प्रतिशत युवापुस्तामा लाइसेन्स नभएको उनी बताउँछन् । साथै, मोटरसाइकल दुर्घटनाको केसमा सडकको हात नभएको उनको तर्क छ । ‘अहिलेका युवापुस्ता टुर भन्दै चार–पाँच ओटा मोटरसाइकल भेला गर्छन्,’ उनी भन्छन्, ‘बाइक चलाउने बेला ध्यान सडक र सवारीमा भन्दा फोटो, भिडियो र क्यामेरामा हुन्छ । यस्ता क्रियाकलापले पनि दुर्घटना हुने गरेको पाइएको छ ।’
‘गुडाउन बनाएको साधनलाई गुडाउनै हुँदैन भन्न मिल्दैन,’ उनी थप्छन्, ‘यो समाधान पक्कै होइन । तर, कसरी गुडाउने त्यसमा ध्यान पुर्याउनुपर्छ । यसका लागि अहिलेको पुस्तालाई चाहिने भनेको जनचेतना नै हो ।’
पूर्व ट्राफिक प्रहरी निरीक्षक हाछेथू दुर्घटनामा पर्ने धेरै युवापुस्ता अविवाहित हुने गरेको बताउँछन् । ‘घरमा न श्रीमती न छोराछोरी भनेर उनीहरू बेवास्ता गर्छन्,’ उनी भन्छन्, ‘८–१० लाखको बाइक किनिदिने बुवाआमाले दुर्घटना भयो भने खर्च पनि बेहोर्छन् भनेर उनीहरू जथाभावी गर्छन् । जिम्मेवारी बोध गर्दैनन् ।’
त्यस्तै, आफूलाई थाहा नभएको नयाँ रुटमा हिँड्दा बाटोको बनावट थाहा नभएर पनि धेरैजना दुर्घटनामा परेको उनी बताउँछन् । ‘त्यस्तो बाटोमा तँभन्दा म के कम भन्दै बाइक दौडाउँदा दुर्घटनामा हुन्छ,’ उनी भन्छन्, ‘ढोकाबाट छिर्नुपर्ने मान्छे हतार गरेर झ्यालबाट छिर्यो भने के हुन्छ ? हो, त्यस्तै दुर्गति सडकमा लापरवाही तरिकाले चलाउने चालकको हुन्छ ।’
मोटरसाइकलमा लामो यात्रा गर्दा आफू जाने ठाउँ कति किलोमिटर छ ?, धेरै दुर्घटना हुने क्षेत्र कुन–कुन हुन् जस्ता विषयमा विचार पुर्याउनुपर्ने हाछेथूको सल्लाह छ । ‘टाढाको बाटो यात्रा गर्दा सुरक्षाका उपाय अपनाउनुपर्छ,’ उनी भन्छन्, ‘मोटरसाइकलको कन्डिसनदेखि हेल्मेटको गुणस्तरसम्मको कुरा विचार पुर्याउनुपर्छ ।’
यस्तो छ तथ्यांक

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

प्रतिक्रिया