आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सरकारले दिने राहतमा अन्योल, बित्यो एक महिना

७९ स्थानीय तहमध्ये तीन वटाले मात्र पठाए क्षति विवरण

सुर्खेत– कात्तिक पहिलो सातामा आएको बेमौसमी वर्षाले किसानले उठाउनै लागेको बाली नष्ट पार्‍यो । बेमौसमी वर्षातसँगै किसानका खुसी खोसिन पुग्यो । यही बीचका पर्व निराशामै बिते । सरकारले किसानलाई राहत दिने भन्ने निर्णयले केही हदसम्म उनीहरु राहत महसुस गर्दै थिए । तर, एक महिना पुगिसक्दा पनि राहत पाएका छैनन् । तत्कालको पीडालाई सम्बोधन गर्न दिइने राहतमा सरकारी लापरबाही देखिएको छ । 

गत असोज ३१ गतेदेखि तीन दिनसम्म लगातार परेको वर्षाका कारण प्रदेशभर जनधनको ठूलो क्षति भएको थियो । त्यतिबेला कर्णालीमा बाढी–पहिरोमा परेर नौ जनाको मुत्यु भएको थियो भने धानबालीमा पनि ठूलो नोक्सानी पुगेको थियो । 

किसानले भित्र्याउने बेलाको बाली बाढी र पहिरोले नष्ट गरेपछि क्षतिको लगत संकलन गरी राहत दिने निर्णय गरिएको थियो । प्रदेश र केन्द्र सरकारले राहत दिने निर्णय गरेको झन्डै एक महिना पुग्दा पनि राहत पाउने टुंगो छैन । राहतकाे त कुरै छाेडाैं हालसम्म क्षतिको विवरणसमेत संकलन हुन सकेको छैन । 

कर्णाली प्रदेशभरको हालसम्मको क्षतिको विवरण हेर्दा किसानले राहत पाउन महिनाैं लाग्ने देखिएको छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये तीन वटाले मात्र बालीमा भएको क्षतिको तथ्याकं संकलन गरेर पठाएका छन् भने बाँकीले पठाउन सकेका छैनन् । 

सुर्खेतका तीन वटा पालिकाले कृषि विकास निर्देशनालयमा विवरण पठाएका छन् । अन्य पालिकाबाट क्षतिको विवरण आएको छैन । बेमौसमी वर्षाले कृषि बालीमा गरेको क्षतिको लगत पठाउन सबै स्थानीय तहमा कात्तिक पहिलो सातामै पत्राचार गरिएको थियो । 

तर, सुर्खेतका भेरीगंगा नगरपाालिका, गुुर्भाकोट नगरपालिका र बराहताल गाउँपालिकाले मात्र विवरण पठाएका छन् । ‘प्रत्येक स्थानीय तहमा पत्राचार भएको छ,’ निर्देशनालयका कृषि अर्थविज्ञ प्रिया थापाले भनिन्, ‘केही पालिकाको विवरण आएको छ । अधिकांशको आउन बाँकी छ ।’

किसानले राहत पाउनेमा अन्योल
पालिकाहरूले नोक्सानीको लगत संकलन गर्नमै ढिलाइ गर्दा किसानले राहत पाउनेमा अन्योल भएको छ । राहत पाउने टुङ्गो नहुँदा किसानहरू मर्कामा परेका छन् । स्थानीय तहले कम चासो दिँदा पीडित किसानले समयमै राहत नपाउने भएका हुन् । पाकेर भित्र्याउने तयारीमा रहेको अन्नबाली वर्षाले नष्ट गरेपनि सरकारले राहत दिने निर्णय गर्दा खुसी भएका किसान यतिबेला निराश बनेका छन ।

वीरेन्द्रनगर–३ तातापानीकी मनरूपा बडुवालले आपत परेका बेला नदिइने राहतको कुनै अर्थ नहुने बताइन् । ‘राहत पनि तीन महिनापछि पाइएला जस्तो छ,’ उनले भनिन्, ‘महिनादिन बितिसक्यो कहिले पो पाइने हो खै ?’

बेमौसमी वर्षाका कारण डुबान हुँदा बडुवालको धान बालीमा ठूलो क्षति पुगेको थियो । उनले आफूहरूको बारीमा भएको क्षतिको लगत संकलन गर्नसमेत कोही नआएको गुनासो गरिन् । वीरेन्द्रनगर–३ कै अर्का किसान अमर थापाले प्रदेश र केन्द्र सरकार दुवैले दिने भनेको राहतको अत्तोपत्तो नभएको बताए । उनी भन्छन्, ‘निर्णय गरेको त धेरै समय भयो । राहत कहाँ कसरी पाइने हो थाहा छैन ।’

बेमौसमी अविरल वर्षाले कर्णालीमा २५ देखि ३० प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आँकलन छ । प्रदेशभर यो वर्ष झन्डै ३८ हजार हेक्टरमा रोपाइँ भएको थियो । प्रदेशभर सबैभन्दा बढी जुम्लाको मार्सीधानमा नोक्सानी पुगेको छ ।

त्यस्तै सुर्खेतमा पनि धानबालीका ठूलो नोक्सानी पुगेको छ । यहाँ १२ हजार पाँच सय ७१ हेक्टरमा रोपाइँ भएकोमा वर्षात्ले करिब ५० प्रतिशत क्षेत्रफलमा लगाएको धानमा असर गरेको हो । सबै जिल्ला प्रभावित भए पनि यकिन विवरण भने अझै आइसकेको छैन । 

क्षति संकलनमै समय लागेपछि राहत वितरणमा विलम्ब भएको छ । स्थानीय तहले सम्बन्धित निकायमा क्षतिको विवरण पठाएपछि राहत प्रक्रिया सुरू हुने सरकारी अधिकारीहरू बताउँछन् । क्षतिको तथ्याकं संकलनको काम सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र कृषि विकास कार्यालयहरूले गरिरहेका छन् ।

जुम्लामा नोक्सानी धेरै 
बेमौसमी वर्षाले जुम्लामा यसपटक धेरै नोक्सानी गरेको थियो । कात्तिक पहिलो सातामा आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिको पहिलो चरणको विवरण संकलन गरेर पठाइ सकिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दाराम चौलागाईंले बताए । 

उनका अनुसार केही पालिकाहरूको विवरण भने पठाउन बाँकी छ । चौलागाईंले जुम्लामा आठ सय ४३ कित्ता खेत बगाएको बताए । करिब २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । २३ वटा सिँचाइ कुलो र १३ वटा पुलहरू पनि बगाएको उनले जनाए ।

त्यस्तै, सल्यानमा पनि लगत संंकलनका लागि पालिकामा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले जानकारी दिइन् । ‘दुई वटा पालिकाको लगत संंकलन गर्ने कार्य भइसकेको छ’, उनले भनिन्, ‘बाँकी ठाउँमा पत्राचार गरिसकिएको छ । क्षतिको लगत संकलन हुँदै होला ।’

किसानले राहत कति पाउने
संघीय सरकारले पनि वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको थियो । तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने भनेपनि किसानले राहत पाएका छैनन् । 

अन्नबालीमा भएको क्षतिको मात्र होइन बाढी–पहिरोमा परेर मृत्यु भएका परिवारलाई समेत सरकारले राहत दिने घोषणा गरेको थियो । मृतकका परिवारलाई राहत दिनेबारे प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै निर्णय गरेका थिए । उक्त निर्णय पनि कार्यान्वयन भएकोे छैन ।

आशामै एकमहिना बित्यो
लगातार परेको अविरल वर्षाले भित्र्याउनै लागेको बालीमा क्षति पुगेका किसानहरुको राहत पाउने आशामै एक महिना बितेको छ । कर्णाली सरकारले बाढी–पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख राहत दिने जनाएको थियो । 

प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले कार्तिक ५ गते नै उक्त निर्णय गरेपनि हालसम्म मृतकका परिवारले राहत पाएका छैनन्  । सामूहिक दुर्घटना बीमाबापत सो रकम उपलब्ध गराउने भनिएको थियो । प्रक्रिया अघि बढेकाले अबको केही दिनमै मृतकका परिवारले राहत रकम पाउने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका अधिकृत कृष्णबहादुर रोकायाले बताए ।