मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

समाजवादी क्रान्तिको नेतृत्व नेकपा एसले मात्रै गर्नसक्छ : झलनाथ खनाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्तिको नेतृत्व आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् । शनिबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।   

‘नेपालमा पुँजिवादी जनवादी क्रान्ति पूरा भएर अहिले समाजवादी क्रान्तिको आवश्यकता छ । समाजवादी क्रान्तिको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्नसक्छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने । उनले पार्टी क्रमिक रूपमा विकास भइरहेको भन्दै संख्यात्मक रूपमाभन्दा पनि गुणात्मक रूपमा पार्टीको विकास गर्नुपर्ने आवश्यकता औंल्याए । 

नेकपा एमालेमा केपी ओलीको व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी निर्माण गर्नु परेको खनालले बताए । उनले एमालेबाट समाजवादी क्रान्ति पूरा हुननसक्ने ठहर गर्दै नयाँ पार्टी खोल्नु परेको स्पष्ट पारे ।

‘हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं । हामी फुटेका होइनौं,’ खनालले भने । तत्कालीन प्रधानमन्त्री ओलीले दुईतिहाइ बहुमत प्राप्त सरकारलाई सही ढंगले चलाउन नसकेकोसमेत खनालले तर्क गरे ।