दलीय खिचातानीका कारण प्रदेश २ ले नाम र राजधानी पाउन सकेन

जनकपुरधाम – दलीय खिचातानी र आन्तरिक मतभेदका कारण प्रदेश २ ले नाम र राजधानी पाउन सकेको छैन । सरकार बनेको पाँच वर्ष बित्न लाग्दा पनि प्रदेश २ ले नाम र राजधानी पाउन नसकेको हो ।
आफूलाई संघीयताको जननि र मधेस केन्द्रित दल दाबी गर्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रदेशमा सरकार बनाउन सफल भए पनि प्रदेश सभामा बहुमत नपुगेको भन्दै प्रदेशलाई नाम र राजधानी दिलाउन असफल भएको छ ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले प्रदेशको नामकरण गर्न प्रदेश सभामा प्रस्ताव दर्तादेखि निर्वाचनसम्म गरे पनि सत्तारुढ दलबीच खिचातानी र मतभिन्नताको कारण देखाउँदै नामकरण हुन नसकेको जिकिर गर्दै आएको थियो । तर हाल उनै राउत नेतृत्वको सरकारसमक्ष बहुमत भए पनि प्रदेशको नाम र राजधानी तोक्ने प्रयास ओझेल पारिएको छ ।
अहिलेको सरकारसँग बहुमत भए पनि जसपा र सत्तासाझेदार नेपाली कांग्रेसको मतभेदका कारण प्रदेशको नामकरण गर्न र राजधानी तोक्न नसकेको सोही दलका नेताको तर्क छ । प्रदेशको नामकरण र राजधानी तोक्न नसक्नुमा मुख्यमन्त्री राउतको अकर्मण्यता भएको प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताले आरोप लगाएका छन् ।
आफूहरू तात्कालीन राजपाकै बेलादेखि प्रदेश २ को नाम र राजधानी तोक्न आवाज उठाउँदै हाल लोसपासम्म आइपुगे पनि मुख्यमन्त्री राउतले प्रमुख प्रतिपक्षी दललाई बेवास्ता गरेको लोसपा संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले बताए । प्रदेशको नामकरण र राजधानी तोक्नुर्ने भएकाले राउतले प्रदेश सभाको बैठक नै अनियमित बनाएको साहले आरोप लगाए ।
यस्तै भौतिक पुर्वाधार विकासमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेशको नाम र राजधानीका लागि सरकारले प्रयास जारी राखेको बताए । दलीय खिचातनी र मुख्यमन्त्री राउतको मतभिन्नताका कारण हालसम्म प्रदेशले नाम र राजधानी पाउन नसकेको उनले जिकिर गरे ।
‘प्रदेशको नाम राख्न र राजधानी तोक्न एक पटक निर्वाचन भइसकेको छ, तर असफल भयो । अहिले सरकारसमक्ष बहुमत भएपछि प्रस्ताव दर्ता गरिएको छ । लामो समयदेखि प्रदेश सभा बैठक सञ्चालन हुन नसक्दा यसबारे ढिलाइ भएको हो,’ उनले इकागजसँग भने । यता प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र साहले नाम र राजधानी तोक्ने विषयमा प्रस्ताव दर्ता भइसकेकाले अब ढिलाइ नहुने आश्वासन दिए ।
यसअघि २०७६ चैत ४ मा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा प्रदेशसभामा मतदान भएको थियो । तर सत्तारुढ जसपाले मात्र प्रस्ताव गरेको ‘मधेस’ प्रदेशमा सहमति नजुट्दा राजधानीको पनि टुंगो लाग्न सकेको थिएन । यस पटक दलहरूले फरक–फरक नाम प्रस्ताव गरेका कारण सहमति जुट्ने सम्भावना न्यून देखिएको छ । प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ तर सरकारसमक्ष दुई बहुमत हुँदाहुँदै एकरूपता नभएका कारण अलपत्र परेको हो ।
प्रदेश सभामा हाल १ सय ४ सदस्य रहेकोमा जसपाका ३९, कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ८ सहित सरकारमा सहभागी हुने तरखरमा रहेका नेकपा (एस) को १३ सदस्य छन् । दुई तिहाइ बहुमतका लागि ७६ मत आवश्यक छ । तर सत्तारुढ दलबीच मतैक्य नहुँदा प्रदेशले नाम र राजधानी पाउन सकेको छैन । सरकारको बाँकी वर्ष कार्यकालभित्रमा पनि यो काम पूरा हुने सम्भावना नदेखिएको सरकारमा रहेका दलका नेताहरू नै स्वीकार्छन् ।

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

प्रतिक्रिया