प्रशासकहरूलाई व्यवहारिक बन्न मन्त्री श्रेष्ठको सुझाव

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरु व्यवहारिक बन्नुपर्ने बताएका छन् ।
सोमबार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरुका लागि नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरु व्यवहारिक बन्नुपर्नेमा जोड दिएका हुन् ।
उनले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरु ठिक भए त्यसलाई कार्यान्वयन गर्ने र समय अनुसार परिवर्तन भएका कुराहरुमा सोही अनुरुप काम गर्न सहसचिवहरुलाई आग्रह गरे ।
सैद्धान्तिक मात्रै नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उनले राष्ट्रसेवक कर्मचारीहरु व्यवहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताए ।
उनले भने, ‘तपाईहरुले पनि प्रशासनिक क्षेत्रमा आजसम्म सिद्ध भएका भनेर मुख्यसचिवज्यूहरु, सचिवज्यूहरु वा तपाईहरुभन्दा अघिल्लो पुस्ताले जे–जे कुराहरु भन्नुभएको छ, ती कुराहरु ठिक छन् भने कार्यान्वयन गर्ने । कतिपय कुराहरु सामाजिक विज्ञानमा परिवर्तन भएरै रहन्छन् । परिवर्तित स्थितिमा यो कुरा यसरी गर्नुपर्छ भन्ने भयो भने त्यसलाई नयाँ ढंगले नवप्रवद्र्धन गरेर जानुपर्ने हुन्छ । सिद्धान्तलाई व्यवहारसँग तादाम्यता मिलाएर मात्रै असल प्रशासक बन्न सक्दछ । असल प्रशासकले सिद्धान्त मात्रै होइन व्यवहारिक बन्ने, धैर्यवान बन्ने, आफ्नो काममा दत्तचित्त, लगनशील बन्ने र उदाहरणीय काम पनि गर्ने । यो कुराहरु हुनुपर्छ जस्तो मलाई लाग्छ ।’
उनले नवनियुक्त सहसचिवहरुलाई आफू मातहतका कर्मचारीहरुलाई पक्षपातपूर्ण व्यवहार नगरीकन काम लगाउन पनि आग्रह गरे । कतिपय कर्मचारीहरुमा आफूलाई प्रशासक ठानि सबै काम अरुलाई लगाउने प्रवृति रहेकोले त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘जिम्मेवारीमा कुशल प्रशासकले सधैँभरी सबैलाई समन्यायिक, सबैलाई न्याय हुने, लाइक, डिसलाइक नगरीकन सबैलाई काम गर्ने अवसर दिनैपर्छ । कुशल प्रशासक बन्नका लागि अभ्यासको थालनी हुनुपर्छ । र कुशल प्रशासकले आफु मात्रै काम गर्ने होइन अरुबाट पनि काम लिन सक्नुपर्छ । सबै आफैले गरेर त्यो कुशल प्रशासक हुँदै हुँदैन । अरुलाई मात्रै काममा जोत्ने कुरा पनि होइन । कुशल प्रशासकले उदाहरणीय काम पनि गर्नुपर्छ । अरुबाट काम पनि लिनुपर्छ, टिम स्प्रिटमा ।’
मन्त्री श्रेष्ठले प्रविधिमैत्री भएर काम गर्न निर्देशन पनि दिए । प्रशासनभित्र संघीयता कार्यान्वनयमा ध्यान दिदैँ कार्य सम्पादन गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया