बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

बैतडीमा बन्दको आंशिक प्रभाव

बैतडी - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको बैतडीमा आंशिक प्रभाव देखिएको छ । 

बैतडीसहितका विभिन्न ठाउँमा आज बिहानैदेखि सार्वजनिक सवारीसाधन कम चलेका छन् । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रका आंशिक रुपले अत्यावश्यक सवारीसाधन चलेका छन् भने पाटन, खोड्पेलगायतका बजार क्षेत्रमा पनि सवारीसधान चलेका छन् । पसलहरु भने बन्द छन् । 

यसैगरी, गोकुलेश्वर क्षेत्रमा सवारीसाधन र पसलहरू बन्द रहेको स्थानीय व्यवसायी सुरेश श्रेष्ठले बताए । गोकुलेश्वरको बैतडी र दार्चुलातर्फका सबै पसल तथा होटेलहरू बन्द रहेको उनले बताए । 

बन्दको समयमा निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरू गुडिरहेका छन् । तर, सार्वजनिक सवारी भने बन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

नेकपाका अनुसार आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकललगायत अत्यावश्यक सेवा भने खुल्ला छन् । त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायातलगायत सबै क्षेत्र बन्द गरिएको छ । सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ । 

विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरुद्धमा नेपाल बन्दको आव्हान गरेको हो ।