मंगलबार २६ चैत, २०८१
Tuesday, April 08, 2025

मेस्सीलाई कीर्तिमान राख्‍न सहयोग गर्ने बार्सिलोनाका भविष्य पेड्री

काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई ३-० ले पराजित गर्दा लियोनल मेस्सीले एक गोल मात्र गरे । तर त्यही एक गोल विश्व फुटबलमा नयाँ र्कीतिमान राख्‍न पर्याप्त रह्यो । ब्राजिलका पूर्व महान् खेलाडी रोनाल्डो मालिक रहेको भालाडोलिडविरुद्ध मेस्सीले ६५ औ मिनेटमा गोल गर्दा मेस्सीले ब्राजिलकै सर्वकालिन महान् खेलाडी पेलेको कीर्तिमान तोड्न सफल भए ।

गत साता बार्सिलोनाका लागि ६ सय ४३ औं गोल गरेका मेस्सीले पेलेको एउटै क्लबमा रहेर सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका थिए । भालाडेलिडविरुद्धको गोलले भने मेस्सीलाई पेलेले राखेको कीर्तिमान उछिन्‍न मद्धत गर्‍यो । मेस्सीले बार्सिलोनामा कीर्तिमान राख्दै गर्दा उनको क्याट्लन क्लबसँगको भविष्य भने अन्यौल नै छ । गत सेप्टेम्बरमा बार्सिलोना छाड्न खोजेका मेस्सीको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ । मेस्सीले बार्सिलोना छाड्ने सम्भावना बढ्दै गइरहेको अवस्थामा क्याम्प नौमा उनलाई कसले प्रतिस्थापन गर्ने भन्‍ने बहस र कौतहुलता सिर्जना हुँदैछ । ला मासियाका उत्पादन मेस्सीलाई ला मासियाबाटै आउने कुनै युवा खेलाडीले प्रतिस्थापन गर्न सक्लान त ?

प्रत्येक वर्ष बार्सिलोनामा मात्र होइन अन्य क्लबमा राम्रो प्रदर्शन गरिरहेका युवा खलाडीलाई मेस्सीको सम्भावित उत्तराधिकारीका रुपमा चित्रित गरिन्छ । मंगलबार मेस्सीलाई गोलको पास मिलाइदिने १८ वर्षीय पेड्रीलाई पनि अर्जेन्टिनीयनलाई प्रतिस्थापन गर्न सक्ने खेलाडीका रुपमा हेरिएको  छ । भालाडोलिडको पोस्टमा गोल गरेपछि मेस्सीले गोलको खुशीयाली मनाउन उनै पेड्रीतर्फ औला सोझ्याएको थिए ।

‘शारीरिकरुपमा पेड्री सानो छन् । तर खेल कौशलका हिसाबमा उनी निकै बलिया छन् । उनी तिक्ष्ण छन्,’ खेलमा गोल गरेका क्लेमेन्ट लेङलेटको पेड्रीको खेलबारेमा टिप्पणी थियो ।  पेड्रीको प्रतिभालाई लिएर बार्सिलोनामा उत्साह छ । उनलाई मेस्सीको ठाउँ लिन सक्ने खेलाडीका रुपमा ब्याख्या गरिन्छ । तर मेस्सीले बार्सिलोना छाडिसकेका छैनन् । त्यसकारण अहिलेका लागि पेड्रीले मेस्सीसँग खेलेर आफ्नो कौशल तिर्खान सक्छन् । त्यसैले भन्‍न सकिन्छ, मेस्सीको गोलले नयाँ कीर्तिमान मात्र रचेन, बार्सिलेनाको भविष्यको संकेत पनि गर्‍यो ।