प्रहरीको बठ्याइँ पब्लिकले पक्रिएपछि...

काठमाडौं : भदौ दोस्रो सातातिर काठमाडौंको सडकमा केही भिन्न देख्न पाइयो । हात हल्लाउँदै सिट्ठी फुक्ने प्रहरीहरुको ठाउँमा डमी ट्राफिक प्रहरीहरु देखिए । ट्राफिकको युनिफर्ममा मास्क र फेस सिल्ड लगाएका दुरुस्तै ट्राफिक प्रहरीजस्तै देखिने डमीहरु काठमाडौंका चोक-चोकमा राखिएका थिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको पहलमा काठमाडौं महानगरपालिकासँग सहकार्य गरी ती डमीहरु राखिएका थिए । सिंहदरबार, सातदोबाटो, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्दीप, भद्रकाली, थापाथली, कालिमाटी, कलंकी, जडिबुटी, कोटेश्वर, गौशाला, पुरानो बानेश्वर, ल्होत्से, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुंगा र जगाती गरी २२ ठाउँमा ती डमीहरु राखिएका थिए ।
ट्राफिक प्रहरीको डमी सडकमा देखेपछि सामाजिक संजालमा सर्वसाधारणले एउटा प्रश्न उठाए । उनीहरुको प्रश्न थियो - सडकमा महिला ट्राफिक प्रहरीको डमी खोई ?’ धेरैले ट्राफिक प्रहरीमा लागेर महिला प्रहरीले गरेको योगदानको कदर नभएको भन्दै गुनासो पनि गरे ।
ट्वीटरमा ज्यास्मिन ओझा (गीताञ्जली) ले लेखेकी छिन् - ‘सडकमा सबैजसो डमीमा ट्राफिक पुरुष मात्रै देखिन्छन् । तर, महिला ट्राफिक देखिदैनन् । डमीमा महिला ट्राफिक नराख्दा उनीहरुले गरेको योगदानको सम्मान हुन सकको छैन । महिला-पुरुष दुबैले बराबर काम गर्छन् भने डमीमा पनि दुबैलाई राख्नुपर्छ । समानताका लागि सानो सुझाव ।’
जनस्तरबाट यसरी गुनासो आएपछि महाशाखाले एउटा चतुर्याई गर्यो । तिनै पुरुष ट्राफिक प्रहरीलाई महिला देखिने गरी टाउकोमा जुरो बनाइदिएर । अहिले पनि पुरुषलाई महिला बनाएर राखिएका ट्राफिक प्रहरीका डमीहरु सडकमा देख्न सकिन्छ । यसरी चोर पक्रिने प्रहरीको चोरी पब्लिकले पक्रेपछि महाशाखाले यस्तो जुक्ति लगाएको थियो ।
महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले २२ ओटा पुरुष डमीमा सातवटालाई महिला ट्राफिक डमी बनाएको स्वीकारे । ‘पहिला सबै पुरुष डमीहरु थिए,’ उनले भने, ‘उनीहरुलाई नै महिला बनाइएको थियो । केहि दिनअघि ११ ओटा महिला ट्राफिक प्रहरीको डमी थपेका छौं ।’महाशाखाका अनुसार उपत्यकामा हाल एक हजार चार सय ६५ महिला ट्राफिक प्रहरी कार्यरत छन् । तीमध्ये दुई सय पाँचजना महिला र एक हजार दुई सय ६० जना पुरुष ट्राफिक प्रहरी रहेका छन् । ट्राफिक नियमका विभिन्न जानकारीमुलक सन्देश बोकेर चोक-चोकमा उभिएका डमीले महिला ट्राफिकको हकमा भने कस्तो सन्देश बोकेको होला त ?
महिला अधिकारकर्मी निर्मला ढकाललाई यो विषयमा केही भन्न मन लागेको छ । सडकमा पुरुष ट्राफिकका डमीलाई जुरो हालेर महिला बनाइएको उनलाई कत्ति पनि चित्त बुझेको छैन । ‘पुरुषको डमीलाई नै जुरो बनाइदिएर महिला बनाउनाले सिस्टमले महिलालाई हेर्ने दृष्टिकोण र उनीहरुलाई दिने प्राथमिकता झल्काउँछ,’ उनले भनिन्, ‘अहिले सडकमा राखिएका डमीको अर्थ डमी मात्रै नभएर ट्राफिक प्रहरीको संकेत पनि हो । गालीबाट बच्न पुरुषमा चुल्ठी बनाएर महिला बनाउनु एकदमै लापर्वाह व्यवहार हो ।’
के भन्छन् महिला ट्राफिक प्रहरी ?
थापाथली र एयरपोर्टलगायत व्यस्त चोक र सडकमा ट्राफिक व्यवस्थापनको जिम्मा महिला ट्राफिक प्रहरीको काँधमा छ । लामो समयदेखि महिला प्रहरीले थापाथली ट्राफिक प्रहरी प्रभाग सम्हाल्दै आएका छन् । केही समयता एयरपोर्ट ट्राफिक प्रहरी प्रभाग पनि उनीहरुकै जिम्मामा छ ।
सात वर्षदेखि ट्राफिक प्रहरीको रुपमाा कार्यरत देवयानी चौधरीले अरु कतै नभए पनि महिलाले प्रतिनिधित्व गर्ने क्षेत्रहरु (थापाथली र एयरपोर्ट) मा मात्रै भए पनि महिला ट्राफिक प्रहरीको डमी राखिदिएको भए हुने बताइन् । ‘महिला युनिट भएको ठाउँमा पनि पुरुष ट्राफिक प्रहरीको डमी देख्दा दु:ख लाग्यो,’ उनले भनिन्, ‘जसरी हामीले ट्राफिक प्रहरीको रुपमा महिलालाई प्रतिनिधित्व गरेका छौँ, डमीहरु पनि त्यहीअनुसारले बनाउनु पर्थ्यो ।’
देवयानीसँग उपत्यकाको विभिन्न ठाउँमा काम गरेको अनुभव छ । उनले भोगेको भोगाइहरु थुप्रै छन् । ‘एकपटक ड्युटीमा खटिँदा लेन मिच्नेलाई कारबाही गर्नुपर्ने भयो,’ आफ्नो अनुभव साट्दै उनले भनिन्, ‘बग्गीखानामा गएर कक्षा नलिएसम्म छाड्न मिल्दैनथ्यो । आइमाइ भएर बढी बोल्ने’ भन्दै चालकले मेरो हातबाट चिट र लाइसेन्स जबर्जस्ती खोसे । तैपनि, मैले उनलाई कारबाही गरेरै छाडेँ ।’
उनी हरेक दिन सडकमा निस्किँदा महिला ट्राफिक प्रहरीभन्दा पनि मात्र ट्राफिक प्रहरी भएर निस्किन्थिन् । सडकमा पुगेपछि चालकहरुले उनलाई बारम्बार ‘तिमी महिला हौँ’ भनेर औल्याइदिन्थे । ‘हामी सधैँ इमान्दानर भएर आफूलाई दिएको जिम्मेवारीहरु पूरा गर्छौँ,’ उनले भनिन्, ‘महिला भएकै कारणले ड्युटीमा कहिल्यै कुनै सम्झौता गर्दैनौँ । तर, चालकले मात्र होइन डमीमा पनि हामीलाई ट्राफिक प्रहरी गनिएन ।’
१३ वर्षदेखि ट्राफिक प्रहरी भएर खटिइरहेकी छिन्, बोना ढकाल राउत । ड्युटीकै क्रममा कोभिड पोजेटिभ आएपछि उनी अहिले आराम गरिरहेकी छिन् । सडकमा नयाँ ट्राफिक डमी देखेपछि साथी हुने भयो भनेर उनी एकातिर खुशी भएकी थिइन् भने अर्कोतिर दुखी । सबैतिर पुरुष ट्राफिक प्रहरीहरुको मात्र डमी देख्दा उनलाई केही नरमाइलो लागेको थियो । पछि तिनै पुरुष डमीलाई जुरो हालेर महिला बनाएको देखेर उनी केही खुशी भइन् । ‘जुरै हालेर महिला बनाइदिएको भए पनि महिला ट्राफिक देखेर एकदमै खुशी लाग्यो,’ उनले भनिन् ।
डमी नै किन ?
कोभिड संक्रमित प्रहरीहरुको संख्या बढ्न थालेपछि जनशक्ति अभाव भयो भन्दै महाशाखाले डमी राखेको हो । ट्राफिक देख्दा मात्रै नियम मान्नेलाई डमीले ट्राफिकको रुपमा काम गरेको एसएसपी ढकालले बताए । ‘टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले यसले ट्राफिक नियम पालना गर्न सघाउँछ,’ उनले भने, ‘सवारीको गति नियन्त्रण गरेर यसले दुर्घटनाबाट बचाउँछ । त्यस्तै, महामारीमा जनशक्ति व्यवस्थापनमा पनि सहयोग पुग्छ ।’

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

प्रतिक्रिया