धुर्मुस भन्छन् : पैसा सरकारले हालोस्, काम आफूलार्ई गर्न देओस्

काठमाडौँ - चितवनमा बनिरहेको क्रिकेट रंगशाला पैसा अभावमा रोकिएपछि धुर्मुस (सीताराम कट्टेल) अहिले सरकारी अड्डा धाइरहेका छन् । धुर्मुस सरकारी अड्डा धाउनुको अन्तर्य हो, रंगशाला निर्माणका लागि अपुग रकम जुटाउनु ।
उनले केही समययता नै आफू १७ करोड हाराहारी ऋणमा रहेको र ऋणीको ऋणले तनावमा परेको बताउँदै आएका छन् । धुर्मुसका अनुसार १७ करोड ऋण सिमेन्ट र छड कम्पनीका हुन् । उनले अन्दाजी ९० भेन्डरसँग सामान लिएको बताएका छन् ।
विभिन्न कम्पनीसँग लिएको सामानको ऋण चुक्ता गर्न नसकेपछि धुर्मुसले रंगशाला निर्माणको कामबाट हात झिकेको घोषणा गरेका छन् । तर घोषणा गरेर मात्र पनि उनले सुख पाएका छैनन्, किनकि रंगशाला बनाउन निर्माण सामाग्री उधारोमा उनैले मागेका थिए ।
उनलाई विश्वास गरेर सामाग्री दिनेले उनैलाई खोज्छन् । दाताको पैसाले नै केही एकीकृत बस्ती बनाएका धुर्मुस–सुन्तली (कुञ्जना घिमिरे)ले दाताकै पैसाको भरोसामा महत्वकांक्षी ३ अर्ब ५५ करोड हाराहारीको रंगशाला निर्माणको अभिभारा लिएका थिए ।
तर उनीहरूले अनेक गरेर ४० करोड रुपैँया मात्र जम्मा गर्न सके । तर रंगशाला निर्माणमा ५५ करोड खर्च भइसकेको धुर्मुसको भनाइ छ । थप पैसा उठ्ने छाँट नदेखेपछि धुर्मुस रंगशाला निर्माणमा भएको खर्चको हिसाब बोकेर धुर्मुस कहिले खेलकुद मन्त्रालय त कहिले अर्थमन्त्रालय धाइरहेका छन् । उनले इकागजसँगको भेटमा भने, ‘म चाहान्छु, रंगशाला निर्माणको अभिभारा सरकारले लिओस् । किनकि यो राष्ट्रिय गौरवको आयोजना हो ।’ धुर्मुसले आफूले नसकेमा सरकारले यो सम्पन्न गर्ने सम्झौता रहेको पनि जिकिर गरे ।
‘हामीले पूरा गर्न नसके भरतपुर महानगरपालिकाले सक्ने सम्झौता छ । तर म राजनीतिको सिकार भएँ,’ उनले दुखेसो गरे । धुर्मुसका अनुसार सरकार रंगशालाको बाँकी काम पूरा गर्न सकारात्मक भए पनि ऋणको दायित्व लिने कुरामा सकारात्मक छैन । धुर्मुस ऋणसहित सरकारले रंगशालाको काम सकाउनु पर्ने अडानमा छन् ।
‘यदि धुर्मुसले अपेक्षा गरेझैँ सरकारले रंगशालाको काम आफैँ सम्पन्न गर्ने निर्णय गर्यो भने धुर्मुसको भूमिका चैं के हुन्छ ?’ इकागजको यो प्रश्नमा धुर्मुसले आफ्नो अनुभव सरकारले प्रयोग गर्दा फाइदै हुने घुमाउरो जवाफ दिए । ‘त्यो के गर्छ भन्ने सरकारको कुरा हो । तर हामी यो प्रोजेक्टमा जोडिरहन चाहान्छौँ,’ उनले भने, ‘हामी जत्तिकै बुझेको मानिस पाउन सरकारलाई समय लाग्छ । काम पनि एउटा लयमा छ । तर कसरी गर्छ त्यो सरकारको कुरा हो ।’
धुर्मुसले यसो भनिरहँदा बुझ्न गाह्रो पर्थेन, उनी प्रोजेक्ट असफल भएको दोष लिएर निस्कन चाहान्नन् । सरकारले नै निर्माण गरे पनि यसको सफलताको जस आफ्नो भागमा पनि परोस्, धुर्मुसको चाहाना यही छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया