बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

पूर्वमाओवादी नेताहरूलाई महाधिवेशनमा सम्मानजनक स्थान हुन्छ : नेम्वाङ

काठमाडाैं - नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरूलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् । एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेराे हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।

'हामी उहाँहरूलाई माओवादी नेता त भन्दैनाैँ एकीकृत कम्युनिस्ट पार्टीका नेता नै भन्छाैँ । तर, पनि बाेलिचालीकाे भाषामा पूर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरूलाई त्यति सहज नहुन सक्छ । त्यसैले उहाँहरूलाई नेतृत्वमा ल्याउन साेच्नुपर्छ,'  नेम्वाङले भने, 'त्यसैले सहमतिका आधारमा उहाँहरूलाई नेतृत्वमा स्थापित गरिन्छ ।'

उनकाअनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेकाे छ । तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्यूतिँदा नेताहरू रामबहादुर थापा बादल, टाेपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए । एमालेकाे १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।