बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

एमाले सिध्याउन अरु १० दल आएपनि फरक पर्दैन, एक्लैले बहुमत ल्याउँछः ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन अरु १० दल आएपनि कुनै फरक नपर्ने स्पष्ट पारेका छन् । 

एमाले काठमाडौँं महानगर कमिटीले शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले सिध्याउन पाँच दलीय गठबन्धन बनेको भन्दै अन्य १० दल आएपनि कुनै फरक नपर्ने बताएका हुन् । 

उनले एमालेलाई कसैको बैशाखी टेकेर हिड्नुपर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचन एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । त्यस्तै उनले आगामी निर्वाचनमा सत्तागठबन्धनका केही दल कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने तर्क गरे । 

आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको उनको भनाई छ । उनले संसदबाट प्रधानमन्त्री बन्नुपर्ने र हट्नुपर्ने भएपनि अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको तर्क गरे । 

एमाले नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको उनले बताए । उनले अहिले विकासको गति अवरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरे । 

ओलीले अहिले एमाले सफा भएको भन्दै सुदृढ एकताका साथ अगाडि बढ्ने उल्लेख गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।