बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

बैतडीमा जन्‍ती बोकेको जीप दुर्घटना : मृतक पाँचै जनाको सनाखत

कैलाली - बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्र बहादुर चन्द, सोही ठाँउका ३८ वर्षीय धन बहादुर चन्द, ६५ वर्षीय प्रेम बहादुर चन्द, ६५ वर्षीय तारा सिंह थापा र ५८ वर्षीय खेम सिंह कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका वडा नं ६ कै ५८ वर्षीय हर्कबहादुर चन्द र जीप चालकसमेत रहेका डडेल्धुराका ४० वर्षीय दिपक माली रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक बोधराज ओझाले बताए ।

गम्भीर घाइते दुवैलाई उपचारका लागि अस्पताल लगिएको सूचना अधिकारी ओझाले बताए । देहिमाण्डौबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप सोही नगरपालिकाको वडा नं ४ स्थित कलुवामोडमा आइतबार राति ८ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।