बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छः प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताएका छन् ।
बझाङका जनप्रतिनिधिले आज उनलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म अविरल बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले बझाङमा ठूलो जनधनको क्षति भएको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले सो विपद् लगत्तै आफै स्थलगत अध्ययनमा गएको र त्यहाँको अवस्था अवलोकन गरेको बताए । उनले भने, 'जिल्लामा बाढीपहिरो प्रभावितलाई आवश्यक सहयोग र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण बारे सरसल्लाह हुदैछ ।'
खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्ति तत्काल गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले बाढीपहिरोले कतिपय स्थानमा राजमार्ग नै पूरै बगाएकाले नयाँ र दिगो बाटो बनाउन दातृ निकायसँग समेत कुरा गर्ने बताए ।
प्रधानमन्त्री देउवालाई बझाङस्थित सबै दलका सङ्घीय र स्थानीय जनप्रतिनिधिले सामूहिक रुपमा भेटेर बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे अवगत गराउँदै आफ्ना विभिन्न मागसहतिको ज्ञापनपत्र बुझाएका थिए ।
उक्त बाढीपहिरोमा परी बझाङमा ३१ जनाको ज्यान जानुका साथै बाढीपहिरोले नदी तथा खोला किनाराका हजारौ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । जिल्लाका झण्डै ५०० परिवार भन्दा बढीको घरखेत बगाएर उठिबास भएको र २०० भन्दा बढी परिवार सुकुम्वासी भएको जनप्रतिनिधिले जानकारी गराएका छन् ।
बाढीपहिरोले जिल्लामा भएका अधिकांश सरकारी तथा गैरसरकारी भौतिक संरचना सडक, विद्यालय भवन, सिँचाइ नहर तथा सिँचाइ कुला, स्वास्थ्य संस्था, सार्वजनिक भवन तथा धार्मिकस्थल, झोलुङ्गे पुल, विद्युत् गृह तथा विद्युत्लाईन, पक्की मोटेरेबल पुलसमेत बगाएका छन् ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया