किन युट्युबमा धमाधम रिलिज हुँदैछन् नेपाली फिल्म ?
काठमाडौं : नेपाली फिल्मको सबैभन्दा ठूलो लाइब्रेरी बनाएको ओएसआर डिजिटलको च्यानलबाट विगत एक महिनामा ५ वटा ठूला भनिएका फिल्म रिलिज भए । यसरी रिलिज भएका फिल्ममा ‘साइँली’, ‘जात्रैजात्रा’ ‘प्रसाद’ , ‘क्याप्टेन’ मुख्य हुन् । ओएसआरले बुधबार मात्रै ‘वीरविक्रम २’ रिलिज गरेको छ । यता युट्यबुमा सकभर रिलिज नगर्ने अडान लिएर बसेको ‘छक्का पञ्जा ३’ पनि बुधबार नै युट्यबुमा रिलिज भएको छ ।
यो फिल्म हाइलाइट नेपालको च्यानलबाट रिलिज भएको हो । बिहीबार बिहान अचानक बुढासुब्बा डिजिटलले पनि ‘साङ्लो’ रिलिज गर्ने सूचना जारी गर्यो । बिराज भट्टको डेब्यु निर्देशन रहेको फिल्म पनि सूचना जारी गरेको केही केही घण्टापछि नै युट्युबमा सार्वजनिक भयो । अहिले नेपाली फिल्मको डिजिटल अधिकार मुख्यतः तीन कम्पनीले लिँदै आएका छन् । हाइलाइट्स नेपालले आजभोलि नेपाली फिल्म लिन कम गरेको छ तर उसँग पहिले नै लिएका फिल्मको स्टक राम्रै छ । बुढासुब्बा र ओएसआर भने नेपाली फिल्म लिने मामलामा एक अर्काका प्रतिस्पर्धी हुन् ।
त्यसैले कतै प्रतिस्पर्धाका कारण यसरी एकै पटक युट्यबुमा फिल्म रिलिज हुन लागेका त होइनन् ? ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले प्रतिस्पर्धाभन्दा पनि दुई कारणले आफूले युट्यबुमा फिल्म रिलिज गरेको जानकारी गराए । ‘पाइरेसी र युट्युब पोलिसी । दुई कारणले हामीले युट्युबमा बाँकी फिल्म रिलिज गर्ने निर्णय गरेका हौं,’ इकागजसँगको कुराकानीमा ओमले बताए ।
उनका अनुसार उनले पछिल्लो समय युट्युबमा राखेका फिल्म भिडियो स्ट्रिमिङ साइटमा पनि राखेका थिए । तर, यहाँ राखेका सबै फिल्म पाइरेसीको चपेटामा परे । पाइरेसी रोक्न प्रहरी प्रशासनसँग हार गुहार गरे तर पर्याप्त सहयोग पाएनन् । बाध्य भएर उनले ती सबै फिल्म भिडियो स्ट्रिमिङ साइटबाट निकाले । अचानक युट्यबुमा फिल्म रिलिज गर्न हतारो गर्न पर्ने दोस्रो कारण चाहिँ युट्यबु स्वयं हो । ओमका अनुसार आउँदो जनवरी महिनादेखि युट्युबले रेभिन्यु पोलिसीमा परिवर्तन ल्याउँदैछ । यसले भिडियोवापत् आउने पैसामा उल्लेख्य कटौती गर्ने आशंका छ ।
यही डरका कारण पनि कम्पनीले जनवरी नलाग्दै युट्युबमा फिल्म रिलिज गर्ने निर्णय गरेका हुन् । ओएसआरका फिल्म झैं ‘छक्का पञ्जा ३’ पनि हालै पाइरेसीको मारमा परेको थियो । चलचित्र टिभी एपमा राखेको फिल्म पाइरेसी भएर हात हातमा पुगेको थियो । पाइरेसी भएपछि युट्युबमा हेर्ने दर्शक संख्यामा कमी आउने डरले हाइलाइटले पनि हतार हतार फिल्म युट्युबमा हालेको अनुमान गर्न सकिन्छ । नत्र हाइलाइटले डिजिटल अधिकार लिएका धेरै फिल्म युट्यबुमा सार्वजनिक भएका छैनन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया