सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

ओलीले जनअभिमतको अपमान गरे : पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर जनताको अभिमतको घोर अपमान गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले ओलीले आफ्नो पद जोगाउने नाउँमा  प्रतिनिधि सभा विघटन गरेको बताए । 

‘प्रतिनिधि सभाको विघटन गर्ने कुनै आधार नै छैन, ओलीले संविधानमाथि जबरजस्ती गर्नुभएको छ, लोकतन्त्रलाई संकेटतर्फ धकेल्ने दुस्साहस गर्नुभएको छ,’ पौडेलले भने, ‘यो संवैधानिक अपराध हो, म त्यसको घोर विरोध गर्छु ।’ 

पौडेलले प्रधानमन्त्री ओलीलाई आफूसँग चुनाव लड्न पनि चुनौति दिएका छन् । ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्दै पौडेलले आफूसँग चुनाव लड्न ओलीलाई चुनौति दिएका हुन् । आफू तनहुँबाट पाँच पटक निर्वाचित भएर आएको बताउँदै पौडेलले ओलीले आफ्नो अपराध लुकाउन व्यक्तिगत लाञ्छना लगाउने गरेको बताए । 

ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउँन आन्दोलनमा उत्रिनुपर्ने तर्क गरे । नेता पौडेलले ओलीको निरंकुशताविरुध्द कांग्रेसले सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने बताए । 

ओलीले प्रतिनिधि सभा विघटन गरेर गरेको अपराध अर्कालाई दोष लगाएर क्षम्य नहुने बताए । आफूले पुरै जीवन कानुन, विधि र पध्दतिको पक्षमा उभिएर राजनीति गरेको दाबी गर्दै पौडेलले अबका दिनमा पनि त्यसैका लागि लडिरहने बताए । ओलीको कदमको मात्रै होइन, देशलाई, लोकतन्त्रलाई र संविधानलाई असर पुर्‍याउने माथि सबै गम्भीर बन्‍नु पर्ने उनको भनाइ थियो ।   

नेता अर्जुननरसिंह केसीले गत निर्वाचनमा दुई तिहाई बहुमतको मतादेश दिएका जनतामाथि नै कृतघ्‍नतापूर्वक धोका र कुठाराघात गर्ने काम प्रधानमन्त्री ‌ओलीले गरेको बताए । ओलीको कार्य शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणका सम्पूर्ण संवैधानिक अङ्गहरू ध्वस्त गर्दै सर्वसत्तावादी चिन्तन र लोकतन्त्रका आधारभूत मान्यतामाथिको प्रहार  भएको उनको आरोप थियो । 

पार्टीको आन्तरिक विवादमा राज्यव्यवस्थालाई शिकार बनाउने, नेतृत्वबीचको किचलो र झगडामा सिंगो मुलुक र जनतालाई दण्ड र कष्ट दिने कम्युनिस्ट नेतृत्वको प्रवृत्ति घोर विरोध गर्नु पर्ने उनको भनाइ थियो ।