शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

विपक्षीसँग प्रतिस्पर्धा, पार्टीभित्र एकता : ओली

चितवन - नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि बढ्नुपर्ने बताएका छन् । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।म कति बाँच्छु भन्न सक्दिनँ धेरैपटक मरेर बाँचेर आएको छु, तपाईंहरूलाई देखेरै मलाई निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु,’ ओलीले भने ।

एमालेबाट सिकेर  अन्य दलले पनि एकैपटक तल्ला तहका कमिटीमा अधिवेशन गर्न सुरु गरेको ओलीको भनाइ छ । ‘एमाले एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं,’ ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, ‘जनताले यहाँ पुर्याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ, राज्यको दुरूपयोग भएको छ, यसलाई दृढतापूर्वक सामना गर्नुपर्नेछ ।’

उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए । उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै  एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको औंल्याए ।