आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

‘पकेट चिट’ले ओलीबाट खोसेको स्वर्णिम मौका

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चितवनमा जारी दशौं महाधिवेशनमा नेतृत्व चयनका लागि अन्ततः मतदान हुने भएको छ । पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म सर्वसम्मत चयन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल भएको छ । दशौं महाधिवेशनमा पनि ओलीले पार्टीभित्र सबैलाई समान व्यवहार गर्न र सबैको नेता हुनबाट चुकेका छन् । 

चितवन महाधिवेशनमा पनि अन्ततः ओलीले गुटवादी संस्कार नै देखाएर उनीमाथि लाग्दै आएको ‘गुटको नेता’ भन्ने आरोपलाई उनी आफैंले पुनर्पुष्टी गरेका छन् । आफ्ना चेलाचपेटा र चाचाचु (चाकडी, चाप्लुसी र चुक्ली)हरूको नाम सार्वजनिक गरेर उनले दशौं महाधिवेशनबाट एमालेमा एकता भन्दा पनि पुनः गुटगत अभ्यासलाई नै संस्थागत गर्न खोजेका छन् । 

ओली २१औं शताब्दीका कम्युनिष्ट नेता हुन् । तर उनको चिन्तन, व्यवहार र आचरण भने पुरातन छ । उनी प्रतिस्पर्धा, नीति र विचारभन्दा पनि कब्जा, नियन्त्रण र बल प्रयोगमा विश्वास राख्छन् भन्ने उनका व्यवहारले बोलेका सत्य हुन् । यसको परीक्षण एकपटक होइन, कयौं पटक भैसकेको छ । 

नवौं महाधिवेशनमा ओली आफैं प्रतिस्पर्धाबाट नेतृत्वमा आएका हुन् । तर पार्टीको अध्यक्ष भएपछि उनले प्रतिस्पर्धालाई रोकेर पार्टीभित्र चाचाचुले स्थान पाउने अभ्यास चलाए । 

कार्यकर्ताको भावना अनि पार्टीको नीति, सिद्धान्त र विचार अनुरूप काम गरेर होइन, पार्टी नेतृत्वलाई खुसी पार्नुपर्छ भन्ने हैकमवादी सोचलाई दशौं महाधिवेशनमा ओली गुटको विपक्षमा उम्मेदवारी दिनेहरूले चुनौती दिएका छन् । 

आफ्नो खल्तीबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम झिकेर सार्वजनिक गर्दा ओलीले आफ्नो राजनीतिक उचाइ झनै घटाएका छन् ।

हाम्रो संविधानले पाँच–पाँच वर्षमा राजनीतिक दलका सबै संरचनाको अधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । यसको अर्थ राजनीतिक नेताहरू जनतासँग नजिक हुन्, जनतामा भिजेर काम गरुन् भन्ने हो । लोकतन्त्रमा सार्वभौम अधिकार जनतामा सुम्पिएको छ । जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने भनेकै विवेकपूर्ण मताधिकार प्रयोगमार्फत् हुने हो । 

कुनै पनि लोकतान्त्रिक नेताले निर्वाचनलाई स्वागत गर्नु भनेकै जनताको सार्वभौम अधिकारको सम्मान गर्नु हो । अनि लोभ, लालच, दबाब र प्रभावमा निर्वाचन नगराउनु भनेको लोकतन्त्र विरोधी आचरण हो, जनताको सार्वभौम अधिकारको अपमान हो । ओलीले अहिले चितवनमा नेतृत्व चयनमा जे आचरण प्रदर्शन गरे, त्यो चितवनमा जम्मा भएका (महाधिवेशन) प्रतिनिधिहरूको अपमान हो ।

सर्वसम्मतिका लागि नेतृत्वले पहल गर्नु अनौठो होइन, तर नेतृत्वका आकांक्षीहरू मैदानमा रहँदारहँदै दबाब, प्रभाव, लोभ, धम्की देखाएर समय घर्काएर सर्वसम्मति भन्दै आफ्नो खल्तीबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम झिकेर सार्वजनिक गर्दा ओलीले आफ्नो राजनीतिक उचाइ झनै घटाएका छन् । सहमति हुन नसक्ने जान्दाजान्दै आकांक्षीहरूका नाम औपचारिक रूपमा सार्वजनिक गरेर उनले गुटगत संस्कारलाई बढावा दिए । 

नेम्वाङले, ‘ओलीबाहेक अरुलाई नेता मान्दिनँ’ भन्नु नै उनको अलोकतान्त्रिक चरित्र हो । नेम्वाङजस्ता शालिन, भद्र र लोकतान्त्रिक देखिने व्यक्तिले बुझ्नुपर्ने के हो हो भने दलभित्र लोकतान्त्रिक अभ्यासमा कसलाई नेता छान्ने भन्ने सम्पूर्ण अधिकार देशभर एमालेको संगठनलाई जीवन्त बनाउने आम कार्यकर्ता पंक्ति र तिनले चयन गरेर पठाएका महाधिवेशन प्रतिनिधिमा निहीत छ, नेम्वाङमा होइन ।

संविधानसभाको अध्यक्ष भैसकेका सुवास नेम्वाङले, ‘ओलीबाहेक अरुलाई नेता मान्दिनँ’ भन्नु नै उनको अलोकतान्त्रिक चरित्र हो । नेम्वाङजस्ता शालिन, भद्र र लोकतान्त्रिक देखिने व्यक्तिले बुझ्नुपर्ने के हो हो भने दलभित्र लोकतान्त्रिक अभ्यासमा कसलाई नेता छान्ने भन्ने सम्पूर्ण अधिकार देशभर एमालेको संगठनलाई जीवन्त बनाउने आम कार्यकर्ता पंक्ति र तिनले चयन गरेर पठाएका महाधिवेशन प्रतिनिधिमा निहीत छ, नेम्वाङमा होइन । उनी पनि अन्य प्रतिनिधिजस्तै एक मतदाता हुन्, भलै उनी उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

यसमा कुनै द्वुविधा छैन कि यो महाधिवेशनले ओली नै अध्यक्षमा निर्वाचित हुनेछन् । तरपनि उनले तीस–चालीस वर्ष पार्टीमा काम गरेर नेतृत्वमा पुग्न चाहानेहरूको अधिकारलाई कुण्ठीत गर्ने प्रयास गर्नुहुँदैनथ्यो । यस आधारमा भीम रावल, घनश्याम भुषालहरूले हारेर पनि जित्नेछन् । उनीहरूको जित पार्टीमा आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाको राजनीतिलाई प्रगाढ बनाउने तथा आफ्ना विचार र नीति कार्यकर्तामाझ पु¥याउनेमा हुनेछ भने ओलीले जितेर पनि हार्नेछन् । वास्तवमा उनले गुटमाथि उठेर सबैको नेता बन्ने स्वर्णिम मौका ओलीले गुमाएका छन् ।