सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

प्रतिनिधि सभा विघटनविरूध्द नागरिक समाजको विरोध प्रदर्शन

तस्बिर : सरोज बैजू

काठमाडौँ : नागरिक समाजका अगुवाहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदशर्न गरेका छन् । प्रदर्शनमा सहभागिहरूले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमनविरुध्द बृहत नागरिक आन्दोलन’ लेखिएको व्यानरसहित सहभागिहरूले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् ।

नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको वृहत नागरिक आन्दोलनमा सहभागि अधिकारकर्मीहरूले बताएका छन् । सरकारले प्रतिनिधि सभा विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको उनीहरूको आरोप छ । भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभइ संविधानमाथिकै आक्रमण भएको उनीहरूको भनाइ छ ।

प्रदर्शनमा सहभागि नागरिक अधिकारकर्मीहरूले संविधा भित्रैबाट अहिलेको समस्याको समाधान खोज्‍जुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नी ?’, ‘समृध्दिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरूले बोकेका थिए । बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरूले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।