जता थापा उतै सूर्य
४१ वर्षपछि वामदेवसँगको बाटो मोडियो

पोखरा : २०३६ सालबाट राजनीति थालेका गुमानसिंह अर्याल २२ वर्षमा तत्कालीन मालेमा प्रवेश गरे । २०४३ को स्थानीय चुनावमा उनी बेसीसहर गाउँ पञ्चायतको प्रधानपन्चमा जनपक्षीय उम्मेदवार बने । चुनाव जिते । मालेमा आवध्द भएदेखि नै वामदेव गौतमका समर्थक थिए ।
उनकै समर्थनमा २०४९ मा जिविस सभापतिको उम्मेदवार बने । तर, पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेपछि उनले उम्मेदवारी त्याग्नुपर्यो । गौतम पक्षधर उनी २०५४ मा बेसीसहर गाविसको अध्यक्ष बने । २०५४ मा पार्टी फुटेपछि उनी वामदेव सम्मिलित मालेमा प्रवेश गरे । वामदेवकै तर्फबाट उनी लमजुङको पार्टी जिल्ला उपसचिव बने ।
पार्टी एकीरण भएपछि वामदेवकै समर्थनमा उनी दुई पटक पार्टीको उपाध्यक्ष बने । तर नेकपा एमालेको नवौं महाधिवेशनमा उनी वामदेवको विरुध्दमा उभिए । वामदेव गौतम केपी शर्मा ओलीको पक्षमा लागेपछि उनले वामदेवको साथ छाडे र माधवकुमार नेपालको पक्षमा उभिए ।
अर्याल आफूलाई ओलीका कट्टर आलोचक बताउँदै माधव पक्षमा लागेका थिए । २०७४ को स्थानीय निर्वाचनमा उनी नेपालकै समर्थनमा बेसीसहरको प्रमुखमा उम्मेदवार बनेर जिते । तर, अहिले नेपालसँगको उनको सहकार्य टुटेको छ । सत्तारुढ नेकपा विभाजन हुँदा अर्याल ओली पक्षको केन्द्रीय सदस्य बनेका छन् ।
‘म पहिलेबाट नै वामदेवको समर्थक हुँ, पछि उनी ओलीको पक्षमा गएपछि साथ छाडिदिएँ,’ उनी भन्छन्, ‘विचारका कारण होइन, म विधि नमान्नेसँग मिल्न सक्दिनँ ।’ पार्टी एकीकरण बचाउन र जनताको मतको कदरका लागि ओली समूहमा लागेको अर्याल बताउँछन् । ‘म ओलीको विरोधी थिएँ, तर जनमतको कदर गर्न, पार्टी एकीकरण बचाउन म यहाँ लागेको हुँ,’ उनी भन्छन्, ‘नेपाल पक्षले अहिले जनमतको कदर छाडेकाले साथ छाडें ।’
...
भर्भराउँदो १६ वर्षे उमेर । तातो रगत, अनि जोस उस्तै । स्याङ्जाका सूर्यप्रसाद गैरे ले १६ वर्षमै घर छाडे । उनी २०५८ को सुरुआतमै माओवादीको पूर्णकालीन भएर घर छाडे । ५ महिनासम्म विद्यार्थी संगठन बनाउन लागे । त्यसपछि माओवादीको सैन्य टिममा भर्ती भए ।
६० सालमा उनी नवलपरासी, चितवन र बुटवलमा खटाइए । सेमोरी क्याम्पमा भदौ १९ गते भएको सैन्य आक्रमणका क्रममा उनी पक्राउ परे । २२ महिना नजरबन्दमा परे, हातमा हतकडी अनि खुट्टामा नेल ।
माओवादीले देश विकासका लागि देखाएको सपनामा उनी चुर्लुम्म डुबे । २ वर्षमै उनको भेट सैन्य कमान्डर रामबहादुर थापा, डा.बाबुराम भट्टराई र पुष्पकमल दाहालसँग भयो । थापाको कमान्ड गर्ने शैली सूर्यलाई मन पर्यो । तर धेरै समय थापासँग हिँड्न पाएनन् ।
नजरबन्दमा परेको २२ महिनापछि सूर्यलाई हेलिकप्टरमार्फत पोखराको फूलबारी ब्यारेक ल्याइयो । अनि कास्कीको कारागारमा चलान भए । शान्ति प्रक्रिया सकिएपछि उनी २०६३ असार ३ मा रिहा भए । ३ महिने परीक्षणकाल पछि फेरि लागे आफ्नै संगठनतिर ।
माओवादीको स्याङ्जा जिल्ला समितिमा प्रवेश गरे । तत्कालीन माओवादीको जिल्ला सदस्य र कार्यालय सचिव भएर काम गरे । बीचमा मोहन वैद्य, दाहाल र बाबुरामबीचको वैमनश्यले पार्टी विभाजन भयो । उनी त्यस समय वैद्य खेमामा उभिए, कारण थियो- थापा उतै गएका थिए ।
वैद्य समूहबाट जिल्ला सचिव बने । पछि पुनः दाहाल समूहसँग एकीकरण भएपछि उनी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य र स्याङ्जा जिल्ला संयोजक बने । एमाले र माओवादी एकीकरणपछि नेकपाको जिल्ला अध्यक्ष उनै हुन् ।
जनयुध्दमा होमिएका, घर परिवार दाहाल समूहका लागि त्यागेका सूर्य अहिले नेकपा ओली समूहसँग मिसिएका छन् । सूर्य किशोरावस्थामा जनयुध्दका लागि हिँडेबाटै थापा समर्थक थिए । जनयुध्दको नेतृत्व गरेका दाहालभन्दा उनलाई बादलमाथि नै विश्वास छ ।
तर उनी नेकपा (ओली समूह)ले थप गरेको केन्द्रीय सदस्यमा भने थापाभन्दा पहिला गए । यसको कारण चाहिँ के थियो ? उनी भन्छन्, ‘बादल कमरेडसँग कुरा भइरहेको थियो, उहाँले घुमाउरो गरी बालुवाटारको बाटो देखाएपछि म त्यता गएको हुँ ।’
जनयुध्दका डोब भर्न प्रतिबध्दता देखाएकाले ओली समूहमा लागेको सूर्य बताउँछन् । अहिले थापा झन् ओली पक्षमा आएपछि यसै समूहबाट जनयुध्दका घाउ मेट्न सकिने उनको विश्वास छ । दाहालले जनयुध्दका योध्दाको नेतृत्व गर्न नसकेकै हो त ? सूर्य भन्छन्, ‘बादल हाम्रो कमान्डर हुनुहुन्थ्यो, प्रचण्डभन्दा उहाँले हामी योध्दालाई बुझ्नु भएको छ ।’
आफ्ना पूर्वनेता दाहाललाई छाड्नुमा केवल थापामात्र कारण नभएको उनको दाबी छ । पार्टी एकीकरणका बेला राखिएको विधान मिचेकाले आफू ओली समूहमा आएको उनी बताउँछन् । ‘हाम्रो विधानमा अल्पमत, बहुमत केही भनेको छैन, जबज र जनयुध्दका कुरा एकैसाथ लिएर जाने भनिएको छ,’ उनी भन्छन्, ‘तर उहाँमा त्यस्तो देखिएन, जबज र जनयुध्दका घाउप्रति ओली प्रतिबध्द हुनुहन्छ ।’
ओली समूहको केन्द्रीय सदस्य बन्नुअघि उनलाई दाहाल, नेपाल, नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, विष्णु पौडेललगायतको फोन आयो । तर उनी ती कोहीको कुरामा पनि प्रतिबध्दता जनाउन सकेनन् । अन्तिममा आफ्ना मनले खाएका नेता थापासँग कुरा गरेपछि भने आफू ओलीतिर लागेको उनको भनाइ छ ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया