शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

ओमिक्रोनको भय, स्वास्थ्य मापदण्ड पालना गरौँ

फाइल फोटो

डेल्टा भेरियन्टको चपेटाबाट अलिकति त्राण मिल्दै थियो, ७८ लाख नेपालीले पूर्ण डोजको खोप लगाएका थिए, अर्थतन्त्र लिकमा हिँड्ने प्रयत्नमा थियो । यत्तिकैमा अफ्रिकी भेरियन्ट ओमिक्रोनको त्रासदीले विश्वलाई नै गाँज्न थालेको छ । हिजो अक्सिजन र उपचारको अभावमा हजारौँ नेपालीले कोभिड-१९ का कारण मृत्युवरण गर्नुप¥यो । त्यतिबेलाको ओली सरकारले कोरोनाको औषधीमूलोको खरिदमा समेत अनियमितता गर्‍यो ओम्नी काण्डका नाममा । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले कम क्षमता र जनशक्तिका बाबजुद उच्चकोटिको सेवा प्रवाह गरे । तर सरकार एकप्रकारले रमितेजस्तै बन्यो ।

आजको स्थितिमा एउटै कुराको मात्र फरक स्थिति छ- झन्डै आधा नेपालीले पूर्ण खोप लगाएका छन् । तर डेल्टा वा अन्य प्रजातिका भाइरसलाई अहिले लगाइएको खोप प्रभावकारी हुन्छ वा हुँदैन भन्ने खुट्टिइसकेको छैन । विश्व स्वास्थ्य संगठनले यसको आकलन गर्दै छ । कदाचित् प्रभावकारी भएन भन्ने नतिजा आयो भने नेपाल मात्र होइन, वैश्विक तहमै यो ठूलो चिन्ताको विषय हो । अझ हाम्रोजस्तो तन्नम अर्थतन्त्र भएको मुलक र जनताका लागि एक प्रकारको अभिशाप नै हो । 

संकटलाई उचित तवरले सामना गर्ने र कुशल व्यवस्थापन हो । यस्ता संकट आइरहन्छन् । त्यही भएर राज्यका संयन्त्र र प्रणाली दह्रो, विवेकी र व्यावहारिक हुनुपर्छ भनिएको हो । नेपालको सेवा प्रवाह र स्वास्थ्य प्रणाली विश्वमै गएगजु्रेकोमा पर्छ । यहाँका शासकहरू आफूलाई ज्वरो आउँदा विदेशी अस्पतालमा उपचार गराउने तर जनतालाई अक्सिजनको बन्दोबस्त गर्न नचाहने वा नसक्ने किसिमको छ । त्यही भएर सरकारप्रति आम जनताको त्यति ढुक्क हुन सक्ने स्थितिमा छैनन् ।

कोभिड–१९ को सुरुआती कालखण्डमा अपनाउनुपर्ने प्रणाली र बसाल्नुपर्ने थिति नभएकै कारण धेरै नेपाली संक्रमित भए । सरकारले एकमात्र उपाय लकडाउन (पछि निषेधाज्ञा) लाई ठान्यो । सीमामा संक्रमणको परीक्षण गर्ने बन्दोबस्त गरिएन । हिजो ओली सरकारले जे जे गर्नुपथ्र्याे त्यो नगरेकै कारण महामारीले जटिल रूप धारण गर्न पुग्यो । आजको गठबन्धन सरकारले पनि त्यही नियति दोहोर्‍यायो भने जनताप्रति ठूलो उपेक्षा साबित हुनेछ । 

सर्वप्रथमतः नेपालमा पनि भित्रिसकेको र अझ बढी संक्रमण सीमाबाटै हुने सम्भावना बढी भएको हुँदा सीमा व्यवस्थापनमा राज्य तल्लीन हुनुपर्छ । उताबाट आएकालाई अनिवार्य परीक्षण गर्ने, संक्रमितलाई आइसोलेसनमा राख्न पूर्वाधार तयार गर्ने, बसोबास र खानपानको उचित व्यवस्था गर्ने र विशेष गरी भारतबाट आउने यात्रु तथा पर्यटकको परीक्षणको दायरा बढाउने लगायतका काममा गम्भीर हुनैपर्छ ।

अब लकडाउनै लगाउने वा निषेधाज्ञा जारी गरेर मात्र समस्याको समाधान नहुने त हिजोको दिनले देखाएकै हुन् । हामी कतिपय नेपालीहरू पनि कोरोनालाई हेप्ने, वास्ता नगर्ने, लापरबाही गर्ने प्रवृत्ति छ । सरकारको एकल प्रयासले मात्र संक्रमण नियन्त्रण गर्न हुँदैन । तसर्थ स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना नै संक्रमण विस्तार हुन नदिने कडी हो ।

यसका लागि अनिवार्य मास्क प्रयोग गर्ने, दूरी कायम राख्ने, बेला बेला साबुन पानीले मिचीमिची हात धुने गर्नुपर्छ । सकेसम्म भीडभाड नगर्ने, सभा सम्मेलन नगर्ने र दूरी कायम राखेर मात्र सार्वजनिक बस-विद्यालय आदि सञ्चालन गर्ने जस्ता कृत्य आजैबाट थालिहाल्नुपर्छ । सरकारले पनि सक्दो छिटो सबै नेपालीलाई खोप लगाउने बन्दोबस्ती गर्नुपर्छ ।