ढोरपाटन आरक्षमा यस वर्ष कम शिकार
बागलुङ - नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यस वर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । झारल तोकिएकोभन्दा तीनवटा कम र नाउर तोकिएकोभन्दा एकवटा कम शिकार भएको हो ।
एक झारल र एक नाउरको अनुमति प्राप्त गर्नुभएका रुसी नागरिक इभिजिनी सिरोक्यो शिकारका लागि नआएकाले शिकार हुन नसकेको हो । उनले हिमालयन वाइल्डआउटफिटरमार्फत शिकार अनुमति लिएका थिए । व्यक्तिगत कारण देखाउँदै शिकारका लागि नआएको सञ्चालक शेरबहादुर वाइवाले जानकारी दिए । उनले सुन दहमा एक नाउर र एक झारलको शिकार गर्ने अनुमति लिएका थिए ।
पहिलो शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर र ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको शिकार गरे । तर फागुने ब्लकमा एक झारलको सिकार गर्न उनीहरु चुकेको शिकार आरक्ष कार्यालयले जनाएको छ ।
हिमालयन सफारीमार्फत मेक्सिकाली नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको शिकार गरे । मेक्सिकाली नागरिक कार्लोसले सेन ब्लकमा एक नाउर मारे पनि झारलको शिकार गर्न सकेनन् ।
ट्र्याक एन्ड ट्रभाल्सले दुईजना युक्रेनी नागरिकलाई शिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको शिकार गर्नुभएको शिकार आरक्षको तथ्याङ्क छ । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा पुग्नुभएको स्पेनी नागरिक जोएक्वाइन बेन्जिमेनले एक नाउरको शिकार गरेको ढोरपाटन शिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । स्पेनी नागरिक मुगलले पनि सोही ब्लकमा नाउरको शिकार गरेका थिए ।
चे रिपब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको शिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमशेर पराजुलीले बताए । ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।
शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । हरेक वर्ष कात्तिक÷मङ्सिर र चैत÷वैशाखमा पहिलो र दोस्रो यामको शिकार हुने गरेको छ । गत वर्ष कोरोना महामारीका कारण यहाँ शिकार पर्यटन प्रभावित भएको थियो । उमेर पुगेका नाउर र झारलको गणना गरेर आरक्षले शिकारका लागि योग्य वयस्कको तथ्याङ्क निकाल्ने गरेको छ । रासस

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया