सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

प्रतिनिधि सभा विघटनविरुध्‍द देशभर प्रदर्शन गर्दै कांग्रेस, देउवाले भक्तपुर, पौडेलले तनहुँमा सम्बोधन गर्ने

फाइल तस्बिर

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गरिएको विरोधमा आज देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गर्न लागेको हो ।

प्रत्येक निर्वाचन क्षेत्रमा हुने प्रदर्शनका लागि सभापति शेरबहादुर देउवाबाहेक सबै नेताहरू आ आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शमाले सभापति देउवाले भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । नेता रामचन्द्र पौडेल भने आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् । अन्य पदाधिकारीहरू पनि आ-आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा पुगेको सचिव शर्माले बताए । नेता पौडेलले तनहुँमा आयोजित दुई कार्यक्रमलाई सम्वोधन गर्ने उनको सचिवालयले बताएको छ । दुइ वटा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन् ।

काठमाडौंमा १५  स्थानमा कार्यक्रम हुने तय भएको छ । काठमाडौं क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोटेश्वरमा हुने प्रदर्शनपछिको सभालाई प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन् । कांग्रेसले सरकारको प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । सरकारको यो निर्णय उल्ट्याउनु पर्ने माग कांग्रेसको छ । कांग्रेसको १० गतेको केन्द्रीय कार्यसमिति बैठकले १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा विघटनको विरुध्‍दमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।