गोरो बन्ने रहरमा कुरुप होला अनुहार !

अहिले छालाको उपचार गर्ने भनेर एउटा विज्ञापन प्रचार गर्ने गरेको देखिन्छ । अनुहारको छालालाई गोरो बनाउने भनिएको यो क्रिमको विज्ञापनमा भनिएको छ, ‘तपाईंको छालाको रङ गहुँगोरो हुनु, (सेतो नहुनु), एउटा रोग हो र यो क्रिमले छालालाई सेतो बनाएर छालाको रोग ठीक पार्छ ।’
यस्ता गलत विज्ञापनले हाम्रो समाजमा भ्रम पैदा गरेका छन् र यसले विशेषगरी किशोरीहरू, युवतीहरू र महिलाहरूलाई जसरी भए पनि गोरो हुनैपर्ने बाध्यता पैदा गरेको छ । प्राकृतिक रङलाई रोग मानेर सेतो बनाउने ‘क्रिम’ लगाउन थालेपछि साँच्ची नै छालामा अनेक रोग देखा पर्छन् ।
केटीहरू मात्र होइन, केटाहरूले पनि साथीभाइको सल्लाह र सहयोगमा अनेक किसिमका शृंगार गरेर आफूलाई बढी सुन्दर बनाउने प्रयास गरिरहेका हुन्छन् । यसरी शृंगार गर्दा दीर्घकालमा त्यसले अनेक समस्या सिर्जना गरिरहेको हुन्छ । कतिलाई आफ्नो शृंगारको सामग्रीले नै कुरूप बनाइरहेको छ भन्ने हेक्कासमेत भइरहेको हुँदैन । आफैँले लगाएको शृंगार सामग्रीले अनुहार कुरूप बनेपछि चिकित्सकहरूकहाँ अत्तालिँदै उपचार गर्न जानेहरूको संख्या हाल दैनिकरूपमा बढिरहेको सम्बन्धित चिकित्सकहरूको भनाइ छ । अझ त्यसमा पनि छालालाई गोरो बनाउने भनेर लगाइएका क्रिमहरूले बढी मात्रामा अनुहारमा क्षति पुर्याइरहेको पाइएको छ ।
काठमाडौं मेडिकल कलेजमा कार्यरत छाला रोग विशेषज्ञ डा. सविना भट्टराईका अनुसार ‘अस्पतालमा दैनिकरूपमा दुई-तीन जना मानिस गोरो पार्ने क्रिम लगाउँदा केही दिनसम्म त छाला राम्रो देखिएको तर पछि छाला बिग्रिँदै गई कालो चाया आएर झन् विरूप भएको पीडा सुनाउँछन् । डा. सविनाका अनुसार यसरी छाला विरूप भएपछि उपचार गर्न पनि निकै कठिनाइ हुन्छ । साथै यसरी छाला बिग्रेको कारणले गर्दा उनीहरूको आत्मविश्वास पनि हराउन थाल्छ ।
किशोरावस्थामा प्रवेश गरेका स्कुल जाने उमेरका कतिपय केटीहरूले पनि गोरो बन्ने भनिएका क्रिम लगाएर अनुहारलाई कुरूप अवस्थामा पुर्याउने गरेको पाइएको छ । बाह्रबिसेमा एउटा स्कुलमा जाँदा केही किशोरीहरूको अनुहारमा अलि बढी नै कालो पोतो भएको पाइयो । उनीहरूसँग चिकित्सकले अन्तरक्रिया गर्दा छाला गोरो पार्ने २५ रुपैयाँ पर्ने क्रिम लगाएपछि उनीहरूमा यस्तो समस्या आएको बताए । स्कुलमा पढ्ने गहुँगोरो वर्णका ती किशोरीहरुलाई ‘सेतो छाला’ चाहिएको थियो ।
आफ्नो अनुहारको छाललाई सेतो पार्न लगाइएको क्रिमले उनीहरूको छालामा समस्या उत्पन्न गरेको थियो । यस किसिमको समस्या अहिले स्कुल पढ्ने किशोरीहरूमा प्रशस्तै मात्रामा देखिने गरेको छ । उपचारको पहुँचमा समेत नरहेका ग्रामीण क्षेत्रका धेरै किशोरीहरूका लागि त यो समस्या जीवनभरका लागि अभिशाप बनिरहेको छ ।
गोरो बनाउने भनिएका क्रिमले छालामा विभिन्न किसिमका समस्या उत्पन्न गर्न सक्ने भएकाले यसको जथाभावी प्रयोग नगर्न छाला रोग विशेषज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन् तर प्रयोगकर्ताहरूको ध्यान यसतर्फ आकर्षित हुन सकिरहेको देखिँदैन । यस किसिमका क्रिमहरू उत्पादन गर्ने कम्पनीहरूको आक्रामक विज्ञापनका कारण चिकित्सकहरूको जानकारी तथा चेतावनी छायामा परिरहेको छ । यसले उनीहरूको आर्थिक अवस्था त कमजोर हुँदै जान्छ नै, साथै ती वस्तुले पुर्याउने हानिबाट पनि उनीहरू मानसिक पीडित बनिरहेका हुन्छन् । वास्तवमा विज्ञापनका भरमा यस्ता उपभोग्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन ।
कमसल र हानिकारक वस्तुहरूका उत्पादकहरूले अहिले विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गरेर आफ्ना कमसल वस्तुहरूको प्रवर्द्धन गरिरहेका छन् । तर मानिसहरू यस्ता कार्यक्रमहरूलाई उत्साहका साथ अवसरका रूपमा उपयोग गरिरहका हुन्छन् । साथै लामो समयसम्म त्यस्ता वस्तुहरूको प्रभावमा परिरहेका हुन्छन् । उत्पादकहरूले हाल महिला तथा किशोरीहरूलाई लक्ष्य गरेर विभिन्न किसिमका सौन्दर्य प्रतियोगिताहरू आयोजना गरेर समर्थन बटुलिरहेका छन् ।
छालाको प्राकृतिक रङलाई रोगका रूपमा व्याख्या गरेका विज्ञापन अनैतिक र भम्रपूर्ण हुन् । यस्ता विज्ञापनले समाजमा विभेद र विकृति पैदा गर्छन् । साथै आक्रामक विज्ञापनको भ्रम र दबाबमा परेर किनिएका वस्तुले अनेक किसिमका स्वास्थ्य समस्या पनि सिर्जना गरिदिन्छ ।
यस्ता सौन्दर्य प्रतियोगिताहरू नेपालमा फेसनका रूपमा विकास भइरहेको देखिन्छ । पहिले वर्षको एउटा प्रतियोगिता आयोजना हुँदा विरोध गर्नेहरू अहिले हरेक जातजाति र उमेरसमूहका युवतीहरूका लागि यस्ता प्रतियोगिताहरू आयोजना हुँदा पनि चुप लागेर बसिरहेका छन ।
प्राकृतिक रूपमा सुन्दर मानिसलाई गोरो हुनु चाहिँ सुन्दरता हो भन्ने भ्रम पनि यस्तै वस्तु उत्पादक बहुराष्ट्रिय कम्पनीहरूले सिर्जना गरिरहेका छन् । भौगोलिक अवस्थाअनुसार विभिन्न भूभागका मानिसहरूको रङ पनि फरकफरक नै हुन्छ । कालो, गोह्रो, गहुँगोह्रो, सेतो, खैरो वा अरु कुनै रङ भएका मानिस त्यस स्थानका लागि र त्यो समुदायका लागि सुन्दर र सुहाउँदिलो नै हुन्छन् ।
तर अर्को स्थाना जाँदा स्वाभाविकरूपमा भिन्न र अमिल्दो हुन सक्छ । कुन वर्ण चाहिँ सुन्दर भन्ने कुरा मानिसको दृष्टिकोणमा भर पर्ने कुरा हो । मानिसहरूलाई आफू र आफ्नो समुदायका मानिसहरूको वर्ण स्वाभाविक र सुन्दर लाग्छ चाहे त्यो जुनसुकै वर्ण किन नहोस् । कुनै वर्ण विशेष संसारभरका लागि मान्य हुन्छ भन्ने हुँदैन तर बहुराष्ट्रिय कम्पनीहरूले सेतो वा गोरो हुनु चाहिँ सुन्दर हुनु हो र अन्य रङको छालालाई पनि गोरो वा सेता बनाउने क्षमता भएका क्रिमहरू उनीहरूले बजारमा ल्याइरहेका छन् भनेर दाबीका साथ आक्रामक विज्ञापन गरिरहेका हुन्छन् ।
यसले मानिसमा भ्रम उत्पन्न गरेर त्यस्ता वस्तुहरू किन्न बाध्य पार्ने त छँदै छ, साथै मानिसहरूमा भेदभाव पनि सिर्जना गरिरहेको छ । मानिसको कुनै एउटा रङ चाहिँ राम्रो हो भनेर उनीहरूले प्रचार गर्नु शतप्रतिशत भेदभाव र अन्यायपूर्ण हो । यसले सेतो र तथा गोरो रङबाहेकका मानिसहरूलाई हीनताबोध र आत्मग्लानि गराइरहेको हुन्छ ।
मानिसहरूलाई भ्रम पारेर आफ्ना उत्पादनहरूको प्रयोगका लागि उत्सुक बनाउने गरी विभिन्न सञ्चारमाध्यमबाट प्रचार गरिएका विज्ञापनहरूले उपभोक्ताहरूलाई सधैँ नियन्त्रणमा राखिरहेको हुन्छ । उत्पादकहरूको विज्ञापनको जालोमा जेलिए पछि सामान्यतया उपभोक्ताहरूलाई फुत्किन निकै कठिन नै पर्छ ।
प्रतियोगितासञ्चालनका लागि प्रयोजकहरू उपलब्ध हुने भएकाले पनि यस्ता कार्यक्रमहरू निरन्तरसञ्चालनमा छन् । प्रायोजकहरूले एक पटक थोरै रकमको प्रायोजन गरे पछि लामो समयसम्म उनीहरूलाई आफ्नो प्रभावमा पारेर वस्तुको व्यापार वृध्दि गर्न सकिने भएकाले पनि प्रायोजकहरूको कमी देखिँदैन । तर त्यस्ता प्रायोजकहरूले भविष्यमा कस्तो गुणस्तरको वस्तुको बजार प्रवध्र्दन गर्छन् भन्ने कुरा कार्यक्रम आयोजकहरूले ध्यान दिइरहेका हुँदैनन् ।
रङ गोरो वा कालो हुने भन्ने कुरा जन्मिँदा नै निर्धारित भएर आउँछ । त्यसलाई त्यसै रूपमा रहन दिनु उचित हुन्छ । विज्ञापनको भ्रम र दबाबमा परेर मानसिक तनाव पछि आफ्नो प्राकृतिक कालो रङलाई सेतो बनाउँछु भनेर अनेक उपाय गरेर झन् पीडा भोग्न बाध्य भएका प्रसिध्द पपगायक माइकल ज्याक्सन विश्वकै लागि एउटा उदाहरण हुन् । उनी आफ्नो कालो रङबाट मुक्ति पाउन चाहन्थे र त्यसलाई अनेक शल्यक्रिया गरेपछि उनको रङ त परिवर्तन भयो तर लगातारको दुखाइ उनको जीवनको अभिन्न भाग बन्न गयो र पछि दुखाइ कम गर्ने औषधि नै उनको मृत्युको कारण बन्यो ।
हिजोआज स्किन ह्वाइटनिङ र लाइटनिङ क्रिम खुब प्रयोगमा आउने गरेका छन् । ती क्रिम छालाका लागि एकदमै खतरनाक छन् । केही समयलाई गोरो बनाएको भ्रम दिए पनि तिनमा हाइड्रोक्विनोन, मर्करी, युभिबी र युभिए नामक तत्वहरू मिसाएको हुन्छ । यी तत्वले डर्माटाइटिस, एक्ने, सुगरजस्ता रोग लाग्न सक्छन् । ती क्रिमले छालाको इपिडर्मिस लेयरलाई नष्ट गरेर छालालाई पानी भन्दा पातलो बनाइदिन्छन् ।
विश्व स्वास्थ्य संघले आफ्ना विभिन्न रिपोर्टहरूमा हानिकारक र मिसावट भएका शृंगारसामग्री (गोरो बनाउने, रातो बनाउने लिपिस्टिक) आदिको प्रयोगले छाला नराम्रो हुने मात्रै होइन कि शरीरका भित्री अंगहरू मुटु, मिर्गौलामा पनि नकारात्मक असर पार्ने कुरा उल्लेख गरेको छ । गोरोपन बढाउने क्रिममा मर्करीको (एक रासायनिक तत्व) राखिएको हुन्छ । मर्करी थर्मोमिटरमा पनि प्रयोग गरिन्छ तर मर्करीको छालामा प्रयोग गरेपछि यसले हामीहरूको रोगसँग लड्ने शक्ति कम हुन्छ । विभिन्न गोरो पार्ने क्रिमले 'शरीरभित्रका अंगलाई खत्तम गर्छ' भन्ने कुरा हामीलाई कसैले भन्दैन ।
छालाको प्राकृतिक रङलाई रोगका रूपमा व्याख्या गरेका विज्ञापनहरू अनैतिक र भम्रपूर्ण हुन् । यस्ता विज्ञापनले समाजमा विभेद र विकृति पनि पैदा गर्छन् । साथै आक्रामक विज्ञापनको भ्रम र दबाबमा परेर किनिएका वस्तुले अनेक किसिमका स्वास्थ्य समस्या पनि सिर्जना गरिदिन्छ ।

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

चीनले बनायो नयाँ थेरापी प्रविधि : अब १९ हजार रुपैयाँमा क्यान्सरको उपचार

निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित

कामपाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा
आज विश्व क्षयरोग दिवस : कति छन् क्षयरोग पीडित ?
_8mxRq0SctC_2vwwvjejwsmwyyypxbr9whhqjjaemhktlhv3uktbzxafnjrkgnfjwwwixqs4_H0H10cmgqP_xzdqh0ioslpprajxmtmzmla1zd6utzx7qkkaieygiw9rt5tdbck3sjdinamw.jpg)
राती घण्टौं निंद्रा लागेन, यी योग आसनले गर्नेछ मद्दत

प्रतिक्रिया