आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

‘विश्‍वासको मत लिन डराउनेले दुई तिहाइको प्रधानमन्त्री हुँ भन्‍न मिल्छ !’

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर जनताको मतको अपमान गरेको बताएका छन् । 

सोमबार बानेश्‍वरमा कांग्रेस काठमाडौँ-१ ले आयोजना गरेको प्रदर्शनपछिको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्रको विरोध फेस गर्न नसकेर प्रतिनिधि सभा विघटन गरेर, अहिले ओलीले ठूला कुरा गरिरहेको बताए । ‘पार्टीभित्र फेस गर्न नसक्ने ? अनि ठूला कुरा गरेर हुन्छ?’ सिंहले भने, ‘जनताको मतको अपमान भएको छ ।’

कांग्रेसले ओलीको कदम नसच्चिएसम्म प्रतिरोध गरिरहने सिंहले बताए । आन्तरिक कलह पेचिलो बनेपछि प्रतिनिधि सभा विघटन गरेर रिस पोखेको सिंहको भनाइ छ । अहिले विश्वासको मत लिन डराएका ओलीले जनताको म्यान्डेट लिन गइरहेको छु भन्नु लाजमर्दो कुरा भएको सिंहले बताए । 

‘अहिले विश्वासको मत लिने आँटसमेत नगर्ने ? हठातमा प्रतिनिधि सभा विघटन गरेर बढो क्रान्तिकारी जस्तो देखिएर जनताको म्यान्डेट लिन गइरहेको छु भन्छन् । त्यो लाजमर्दो कुरा हो,’ सिंहले भने, ‘जनप्रतिनिधिबाट विश्वासको मतसमेत लिन सक्ने आँट छैन । अनि दुई तिहाइ मतको प्रधानमन्त्री भनेर मात्रै हुन्छ ?’ संविधानमा भएको विश्वासको मत लिन सक्ने प्रावधानलाई प्रयोग गर्न ओली डराएको सिंहको भनाइ छ । 

तस्वीर : सराेज बैजु