कांग्रेस महाधिवेशन : हुनुपर्ने ‘हाइटेक’, भयो ‘हिलटेक’

साँच्चै नै नेपाली कांग्रेसको मतदान र मतगणनाको प्रक्रियाले अत्याउने निश्चित छ । कांग्रेस झन्झटिलो कागजी मतदानबाट ‘माथि’ उठ्नुपर्ने दायित्वबाट विमुख हुन पुगेको छ । अघिल्लो महाधिवेशनको दृश्य स्मरण गराउँदै एकातिर माग ‘हाइ–टेक’ थियो । तर, मुलुकको पुरानो पार्टी कांग्रेस ‘हिल-टेक’ ट्यांकीकै चुनावी प्रद्धतिमा मोहित हुन पुग्यो । अर्थात्, कांग्रेस नेतृत्वले ‘डिजिटल’ पद्धतिलाई विश्वास गर्न सकेन ।
कांग्रेसले पुरानै परम्परागत ‘ठीक चिनो’मै महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न लगाउँदै छ । अनि उसले चुनावी प्रक्रियाचाहिँ परम्परावादी शैली पछ्याउन चाहेको सन्देश गएको छ । उसै त, परम्परागत पार्टीको संज्ञा पाएको सत्तारूढ कांग्रेस ‘डिजिटल भोटिङ’मा नजानुले सकारात्मक सन्देश प्रवाह गर्नेछैन ।
२०७२ फागुनमा १३ औँ महाधिवेशनको पट्यारलाग्दो मतगणना शैलीका सवाल चारैतिर आलोचित बनेको थियो । उतिखेर सभापति परिणामकै भोलिपल्टै आए पनि अरू पदाधिकारी र सदस्यको परिणाम आउन साता दिनभन्दा बढी समय लागेको थियो । त्यसरी धेरै दिन लगाएपछि चिया गफदेखि कार्टुनसम्ममा कांग्रेसको धज्जी उडाएको दृश्य कांगे्रस नेतृत्वको स्मरणमा आएन । विगतमा आएका प्रखर आलोचनाबाट कांग्रेसले धेरै कुरा सिक्नेछ, तौर–तरिका बदल्नेछ भन्ने लागेको थियो । तर, चौैैैधौँ महाधिवेशनसँगै पानी ट्यांकी भ्वाङ पार्दै गरेका विरक्तलाग्दो दृश्यले खल्लो तुल्याएको छ । अझ महाधिवेशन प्रतिनिधि त आत्तिने नै भए ।
यसपालि अघिल्लो चोटिभन्दा अझ धेरै दिन लाग्ने निश्चित छ । किनभने प्रतिस्पर्धाका पद अघिल्लोपटकभन्दा दोब्बर भएको छ । महाधिवेशन प्रतिनिधिहरूलाई नाम खोज्दै १३३ ठाउँमा ठीक चिनो लगाउनु सजिलो छैन । अघिल्लोचोटि ६१ केन्द्रीय सदस्यका निम्ति ३५२ प्रतिस्पर्धी थिए । यसपालि केन्द्रीय सदस्य पद नै १ सय २१ छ । जसमा ४ सय ५१ जना चुनावी मैदानमा छन्, पदाधिकारीको बेग्लै कुरा । त्यस अतिरिक्त २९ वटा मतपत्रमा चिनो लगाउनुपर्ने छ । त्यतिविधि आकांक्षीको ठीक चिनोमा आँखा दौडाउनु त्यति सजिलो छैन, जति सोचिएको छ ।
कांग्रेसका निम्ति भर्खरै सकिएको एमाले महाधिवेशनको ‘हाइटेक’ चुनाव उदाहरण थियो । यद्यपि एमालेले ‘डिजिटल’ चुनाव निम्ति मेसिन जडान गरिएपछि ‘सर्वसम्मति’को खोजमा गयो । त्यसैले दुई दिन खाइदियो । तर, एमालेमा सीमित पदाधिकारी र केन्द्रीय सदस्यका निम्ति भएको विद्युतीय मतदान प्रक्रिया सजिलो बनेको देखिएकै थियो । मत परिणाम पनि निकै चाँडो आएको थियो । कांग्रेसले एमालेको त्यो अभ्यास–अनुभवबाट पनि सिक्न सक्थ्यो । तर, कांग्रेस नेतृत्वलाई ‘हाइटेक’ पद्धति स्वीकार्य भएको देखिएन ।
एमालेले महाधिवेशन थलो चितवनमा ‘भोटिङ मेसिन फिट’का दृश्य र मतदान परिणाम स्वीकार गरेको डेढ साता नबित्दै कांग्रेसको चाहिँ ‘पानी ट्यांकी’ भ्वाङ पारी मतपेटिकामा जाँदा धेरैलाई सहज लागेन ।
उतिबेला कांग्रेसको सुस्त मतगणनाको आलोचना भएपछि ‘डिजिटल’मा प्रक्रियामा जानुपर्छ, परम्परागत शैलीलाई तिलाञ्जलि दिनुपर्छ भन्ने बहस नभित्रिएको होइन । झन् कांग्रेस सत्तारूढ पार्टी भएका नाताले पनि अरु दललाई ‘डिजिटल’ प्रविधिमा लैजानुपर्ने दायित्वमा थियो । ऊ आफैँले नयाँ प्रविधिमा विश्वास नगरेपछि अरु दलले कसरी गर्न सक्छन् ।
त्यसो त, कांग्रेसले आफूलाई ‘हाइटेक’मा प्रवेश गराउने उद्घोष पनि महाधिवेशनकै बेला आएको छ । त्यतिमात्र होइन, कांग्रेसको ‘एप’ पनि महाधिवेशनकै बखत सार्वजनिक गरी ‘हाइटेक-कांग्रेस’मा जाने उद्घोष भएकै हो । तर, मतदानमा अपनाएको परम्परागत शैलीले ‘हाइटेक’माथि कांग्रेसभित्र ‘हिलटेक’ रजगज निरन्तर रहेको देखाउँछ । यो महाधिवेशनसँगै कांग्रेसले बोलीले मात्र होइन कि व्यवहारमा पनि हाइटेक जानैपर्छ, मतदाताको विश्वास जित्न पनि ।

शासन प्रणाली होइन, नेतृत्वको गुणस्तरले राष्ट्रको भविष्य निर्धारण गर्छ

गणतन्त्र दिवस: कानुन अन्तर्गत समान न्याय नै लोकतन्त्रको मूल आधार

त्रिभुवन विश्वविद्यालयलाई परिवर्तन गर्ने सुनौलो अवसर नगुमाउ

नेपाल-भारत सम्बन्धमा आर्थिक कूटनीति

भूकम्पमा बाँचेकालाई चिसोबाट मर्न नदेऊ सरकार

इजरायलमा रहेका बाँकी नेपालीहरूलाई छिटो फर्काऊ

प्रसारण लाइनका तगारा हटाउन छाता ऐन आवश्यक

प्रतिक्रिया