मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

देउवा प्यानलमा डा. शशांक कोइराला केन्द्रीय सदस्य, रामचन्द्र मतदान गर्न नआउने

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार समेत रहेका शेरबहादुर देउवाले हिजो राती आफ्नो सिंगो प्यानल घोषणा गरेका छन् । प्रारम्भमा पदाधिकारीको नाम सार्वजनिक गरिएको थियो । 

आइतबार राती केन्द्रीय सदस्यहरूको समेत नाम सार्वजनिक गरिएको छ । जसमा हालका महामन्त्री डा. शशांक कोइरालाको नाम केन्द्रीय सदस्यमा समावेश छ । हुन त साझा उम्मेदवार हरेक प्यानलमा पर्ने सम्भावना हुन्छन् । तर आफ्नै दाजु शेखर कोइराला सभापतिको उम्मेदवार रहँदारहँदै शशांक किन देउवाको प्यानलमा बसे भन्ने प्रश्न उठेको छ । 

महाधिवेशन घोषणा हुँदा एक ठाउँमा रहेका डा. शेखर, डा. शशांक र सुजाता कोइराला अहिले तीन तिर पुगेका छन् । सुजाता सभापतिका उम्मेदवार प्रकाशमान सिंहको तर्फबाट उपसभापतिको उम्मेदवार छिन् । 

त्यस्तै देउवाले आइतबार दुईओटा रणनीतिक मुभ गरेका छन् । शशांकको समर्थन प्राप्त गर्नुअघि उनीसँग बालुवाटरमा देउवाले भेटेका थिए । संखुवासभाका सभापति एवं शशांक निकट व्यवसायी दीपक खड्का र शशांकका स्वकीय सचिव भरत तिवारीले शशांकलाई देउवासँग भेटाएका थिए । देउवाले आफूपछि सभापतिमा शशांकलाई सहयोग गर्ने वचन दिइएको बताइन्छ । 

त्यस्तै देउवाले आइतबार नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोहोराटारमा पुगेर भेटेका छन् । देउवासँगको भेटपछि रामचन्द्रले आफू महाधिवेशनमा मतदान नै गर्न नआउने बताएका छन् । देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने र पौडेललाई राष्ट्रपति बनाउने आश्वासन दिएको बताइन्छ । देउवासँगको भेटमा रामचन्द्रका छोरा चिन्तन पौडेल सहित सम्पूर्ण परिवारका सदस्यले हँसिलो मुद्रामा तस्बिर खिचाएको देखिन्छ ।