मिलेर अघि बढ्नुहोस : चिनियाँ नेता
ओली सच्चिए सहकार्य गर्न समस्या छैन : दाहाल-नेपाल-खनाल समूह

काठमाडौँ : नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलले एक पछि अर्का नेकपा नेताहरूलाई भेट्दै मिलेर सहकार्य गरेर अघि बढ्न सुझाएको छ । कम्युनिस्टहरू फुटेर होइन जुटेर अघि बढ्न सकेमा स्थायित्व कायम हुने भन्दै मण्डलले जुट्न सुझाएका हो ।
पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न र सुझाव दिन आएको चिनियाँ विशेष राजनीतिक कार्यदलले त्यस्तो सन्देश दिएको हो । आइतबार आएलगत्तै दुतवासमा व्रिफिङ लिएपछि म्याराथुन शैलीको भेटवार्तामा उत्रिएको टोलीले कम्युनिस्ट नेतृत्वलाई मिलाउन निकै मेहनत गरिरहेको छ ।
घरदैलो नै गरेर टोली मिलाउन कस्सिएका हो । चार्टर उडानमा आएको टोलीको यो भ्रमण सामान्य भने होइन । टोलीले आउने वित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारीसँग डेढ घण्टा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही संक्षिप्त भेट गरेको थियो । सोमबार टोलीले प्रधानमन्त्री ओलीलाई पुनः भेटगरी लामो छलफल गरेको थियो ।
अर्को खेमाका नेताहरूसँग भेट गरेपछि प्रधानमन्त्री ओलीसँग पुनः टोलीले लामो वार्ता गरेको हो । टोलीले प्रधानमन्त्री ओलीलाई आफ्ना सदस्यहरूलाई मिलाएर पार्टी एक गर्न आग्रह गर्यो भने पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि भेटेर ओलीसँग सहकार्य गर्न आग्रह गर्यो ।
‘मिलेर अघि बढ्नुको विकल्प छैन । दुवै तर्फको अडानमा केही मिलन विन्दु खोज्न आवश्यक छ,’ भेटका एक सहभागीले सुनाए, ‘मिलेर जानुहोस् । हाम्रो के कस्तो सहयोग पर्छ चीन तयार छ ।’ टोलीले दाहाललाई खुमलटारमा भेटेर यसरी फुटेर अघि बढ्नुभन्दा मिलेर जान आवश्यक रहेको भन्दै प्रधानमन्त्रीसँग मिल्न सुझाएको थियो । त्यस्तै सुझाव नेपाल र खनाललाई पनि टोलीले दिएको थियो ।
तर, तीनै जना पूर्वप्रधानमन्त्रीले ओलीमा नै सुधारको आवश्यकता रहेको बताएका थिए । पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा प्रतिनिधि सभा नै विघटन गरेर ओलीले पार्टीकै मानमर्दन गरेकोसमेत तीन नेताले चिनियाँ टोलीसँग बताएका थिए । प्रतिनिधि सभा विघटनपछि राजनीतिक संकट गहिरिएको मात्र होइन जनतासँग के भन्न जाने संकट आइपरेको समेत उनीहरूले चिनियाँ नेतालाई बताएका थिए ।
सीपीसीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा आइतबार चार सदस्यीय राजनीतिज्ञ र दुई अन्य गरि छ जनाको टोली काठमाडौं आएको थियो । टोलीले सोमबार बिहान दाहाल अनि नेपाल र त्यसपछि खनाललाई भेटेको थियो । सबै भेटमा सम्भव भएसम्म प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्न टोलीले सुझाव दिएको छ ।
दाहाल र नेपाल निकट एक नेताले इकागजसँग कुरा गर्दै भने, ‘चिनियाँ विशेष टोलीले नेकपाको पार्टी एकतालाई कायम राख्न आग्रह गरेको छ । ओलीसँग मिलेर जान सुझाव दिंदै टोलीले भनेको थियो प्रधानमन्त्री ओली पनि यसमा सहमत भएर आउनु हुनेछ ।’
भेटमा दाहालले पनि ओली सच्चिएको खण्डमा मिल्न समस्या नभएको भन्दै सबै पूर्वप्रधानमन्त्री एकातिर र ओली अर्कातिर भएको परिदृष्य समेत व्याख्या गरिदिएका थिए । त्यही शब्द नेपाल र खनालले पनि चिनियाँलाई भनेका थिए ।
दाहाल-नेपाल-खनाल तिनै जनाले ओलीले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिन पर्ने अडान चिनियाँ टोली समक्ष राख्दै त्यसमा सहमति हुँदै उनी सच्चिएको खण्डमा सहकार्य हुनसक्ने स्पष्ट धारणा सुनाएका थिए । दाहालसँग भेटेपछि टोलीले प्रधानमन्त्री भेट्दै चिनियाँ मध्यस्तता देखाएको थियो ।
पहिले पनि चीनले पार्टी मिलाउन निकै मेहनत गर्दै आएको थियो । टोलीले सभामुख अग्नि सापकोटासँगपनि भेटवार्ता गरेको छ । सापकोटाले पनि ओलीको व्यवहारको कारण यो अवस्था निम्तिएको स्पष्ट भनिदिएका थिए । चिनियाँहरूले ओली पनि सच्चिएर अघि बढ्न तयार रहेको अवस्था भन्दै मिलेर जन सुझाएका थिए ।
राष्ट्रपतिले समेत पार्टी मिलाउन निकै मेहनत गरेको जानकारी टोलीलाई दिएकाले पनि टोली उत्साहित भएर पार्टी मिलाउन लागि परेको हो । राष्ट्रपतिले पनि आफूले ओलीको कदम सबै ठिक छ भन्न नसक्ने तर आफू संवैधानिक रहेका कारण कतिपय बाध्यता रहेको धारणा चिनियाँ समक्ष राखेको विषय चिनियाँ टोलीले दाहाल-नेपाल खेमासँग गरेका थिए ।
यसरी टोलीले कुरा सुन्ने र एक अर्काको चिन्ता सुनाउने समेत गरेर मिलाउन प्रयास गरेको देखिन्छ । सबैको धारणमा ओली नै फरक ढंगले अघि बढेको र कसैलाई पनि मानिस नै नगन्ने अवस्थामा पुग्दा यो चरण व्यहोरेको धारणा पनि आएको छ । सबैसँग भेटघाट मिलाएको टोलीले सत्तारुढ दल मात्र नभएर बाहिर रहेका दलका नेतासँग पनि भेटघाट गर्दै यो भ्रमण नियमतित र सामान्य भ्रमणको संज्ञा दिन खोजेको स्पष्ट छ ।
टोलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सोमबार साँझ भेटेको छ भने मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । त्यसबाहेक अन्य नेता बुध्दिजिवी र सुरक्षा अधिकारीहरूसँग पनि भेटवार्ता गरिरहेको छ । टोली बुधबार विहान स्वदेश फर्कने कार्यक्रम छ ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया