सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

दाहाल-नेपाल समूहको काठमाडौंमा विरोध प्रदर्शन : कुन र्‍यालीको नेतृत्व कसले गर्दैछन् ?

फाइल तस्बिर

काठमाडौं : नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । प्रतिनिधि सभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्न लागेको हो । त्यस्तै काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनमा बागमती प्रदेशबाट पनि नेता कार्यकर्ताहरु सहभागी हुने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । काठमाडौंको विभिन्‍न स्थानबाट निस्किएको र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने सापकोटाले बताए ।

उनका अनुसार काठमाडौंको आज बिहान ११ बजेदेखि भृकुटीमण्डपमा हुने विरोधसभामा ५० हजार सहभागी हुनेछन् । जहाँ काठमाडौं उपत्यका र बागमती प्रदेशबाट नेता कार्यकर्ता सहभागी हुनेछन् । विरोध सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्बोधन गर्नेछन् ।

कुन र्‍यालीको नेतृत्‍व कसले गर्दैछन् ?
युवराज ज्ञवालीले टेकुबाट निस्कने र्‍यालीको नेतृत्व गर्दैछन् । उक्त र्‍यालीमा पायक पर्ने केन्द्रीय कमिटी सदस्यहरु, चन्द्रागिरी, नागार्जुन, किर्तिपुर र धादिङबाट आउने नेता/कार्यकर्ताहरु सहभागी बताइएको छ । त्यस्तै कुलेश्‍वरबाट निस्कने र्‍यालीलाई बेदुराम भुसालले नेतृत्व गर्दैछन् । जसलाई त्यहाँ पायक पर्ने केन्द्रीय सदस्यले साथ दिनेछन् भने उक्त र्‍यालीमा दक्षिणकाली र चितवन जिल्‍लाका नेता कार्यकर्ता सहभागी हुनेछन् ।

नेकपाकी नेतृ पम्फा भुसालले कुपन्डोलको र्‍यालीको नेतृत्‍व गर्दैछिन । उनलाई त्यहाँ पायक पर्ने केन्द्रीय सदस्यले साथ दिने छन् । त्यस्तै ललितपुर र मकवानपुर जिल्‍लाका कार्यकर्ताहरु उक्त र्‍यालीमा सहभागी हुनेछन् । नयाँबानेश्‍वरबाट निस्कने र्‍यालीलाई गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले नेतृत्व गर्दैछन् । त्यहाँ पायक पर्ने केन्द्रीय सदस्यहरु, सिन्धुपाल्‍चोक, दोलखा, काभ्रे, भक्तपुरका कार्यकर्ताहरु सहभागी हुनेछन् ।

देवेन्द्र पौडेलले नक्‍सालको र्‍यालीलाई नेतृत्व गर्दैछन् । जसमा पायक पर्ने भित्रि शहरका कार्यकर्ता सहभागी हुने नेकपाले जनाएको छ । लैनचौरको र्‍यालीलाई जनार्दन शर्माले नेतृत्व गर्दैछन् । त्यहाँ पायकपर्ने केन्द्रीय सदस्यका साथै बालाजु, टोखा र नुवाकोट जिल्‍लाका कार्यकर्ता सहभागी हुनेछन् ।

अष्टलक्ष्मी शाक्‍यले न्यूरोड गेटबाट निस्किने र्‍यालीको नेतृत्व गर्दैछिन् । पायक पर्ने केन्द्रीय सदस्य र भित्रि शहरका कार्यकर्ता सहभागी हुने बताइएको छ । मुकुन्द न्यौपानेले रत्‍नपार्क शान्ति बाटिकाको र्‍यालीको नेतृत्व गर्दैछन् । त्यहाँ पायक पर्ने केन्द्रीय सदस्य र मजदुरहरु सहभागी हुने बताइएको छ ।

त्रिचन्द्र क्याम्पसको र्‍यालीलाई योगेश भट्टराईले नेतृत्व गर्नेछन् । उनी नेतृत्वको र्‍यालीमा त्यहाँ पायक पर्ने केन्द्रीय सदस्य र विद्यार्थीहरु सहभागी हुनेछन् । त्यस्तै अमृतकुमार बोहोराले  पूरानो बसपार्कबाट निस्किने र्‍यालीलाई नेतृत्व गर्दैछन् भने उक्त र्‍यालीमा त्यहाँ पायक पर्ने केन्द्रीय सदस्य र सम्‍पर्क मञ्‍चका नेता कार्यकर्ता सहभागी हुनेछन् ।

बर्षमान पुनले बागबजारबाट निस्किने र्‍यालीलाई नेतृत्व गर्दैछन् । त्यहाँ पायक पर्ने केन्द्रीय सदस्य र युवा संगठनका नेता कार्यकर्ता उक्त र्‍यालीमा सहभागी हुनेछन् । त्यस्तै बाल्मिकी क्याम्पसबाट निस्किने र्‍यालीलाई गणेश शाहले नेतृत्व गर्दैछन् । त्यहाँ पायक पर्ने केन्द्रीय सदस्य र पेशागत क्षेत्रका नेता कार्यकर्ता सहभागी हुनेछन् ।