शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मोरङ उद्योग संघले उत्पादकत्त्व अभिवृद्धि र श्रमिकको सम्बन्ध सुमधुर बनाउने

काठमाडौँ- मोरङ उद्योग संघले उत्पादकत्त्व अभिवृद्धि र श्रमिकको सम्बन्ध सुमधुर बनाउने प्रक्रियालाई अघि बढाएको छ । बुधबार संघले श्रम सम्बन्ध विकास र उत्पादक अभिवृद्धि बढाउन अन्तक्रिया कार्यक्रम गरेको छ ।

अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणाली बीचको अन्तरसम्बन्धलाई सृदुढ बनाउनुपर्ने बताए । महत्वपूर्ण पक्षका रुपमा रहेका मानव संशाधन र असल औद्योगिक सम्बन्ध विकासमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

उनले प्रचलित ऐन कानुनको परिधिमा रही सौहाद्रपूर्ण अभ्यासको माध्यमबाट विवाद न्यूनिकरणका उपायहरु अबलम्वन गरी औद्योगिक शान्ति कायम राख्‍न सके सबैपक्षको हित भई उद्योगको उत्पादकत्वमा अभिवृद्धि गर्नसमेत सहयोग पुग्‍ने प्रष्ट पारे ।

औद्योगिक श्रम सम्बन्ध विकासका विज्ञ अवधेश कुमार झाले कार्यस्थलमा व्यवस्थापन र श्रमिक बीचको सम्बन्धलाई विश्लेषण गर्दै असल औद्योगिक सम्बन्ध विकासका लागि व्यवस्थापकले ध्यान दिनुपर्ने बताए ।

स्वास्थ्य तथा सामाजिक सुरक्षा, अनुशासन र आचरण, कानुनी प्रावधानहरुका सम्बन्धमा कम्पनीले आफना कामदारहरुलाई स्पष्ट रुपमा पूर्व जानकारी दिनुपर्ने उनको भनाइ छ । असल श्रम अभ्यासले विवादरहीत कार्यस्थल निर्माण गरी उद्योगी र कामदार दुवै पक्षबीचको सुमधुर सम्बन्ध विकासमा सहयोग पुर्‍याउने उनको दाबी छ ।

त्यसैगरी उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य तारानाथ निरौला, सौरभ सारडाका साथै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानका उद्योगी, उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो