शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

क्रोएशियामा ६.४ म्याग्‍निच्युडको भूकम्प

मध्य क्रोएशियामा गएको ६.४ म्याग्‍निच्युडको भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमण पछि प्रधानमन्त्रीले जनाएका छन् ।

पाँच जनाको नजिकैको सहर ग्लीनामा मृत्यु भएको उप प्रधानमन्त्रीले बताए । मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्‍नावशेषबाट निकालिँदै छ । भूकम्पको प्रभाव क्रोएशियाको राजधानी जाग्रेब , छिमेकी बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार एक जना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । 'हामीले मानिसहरूलाई कारबाट बाहिर तानिरहेका छौँ,' पेट्रेनियाका मेयरले क्षेत्रिय प्रसारक एन१लाई भने । 'त्यहाँ सामान्य त्रास छ । मानिसहरू आफ्ना प्रियजनहरूको खोजीमा जुटेका छन् ।' २० हजार सर्वसाधारणहरूले बसोबास गर्ने उक्त सहरमा मङ्गलवार भूकम्प जाँदा उनी सञ्चारकर्मीहरूसँग कुरा गरिरहेका थिए । तर त्यस बेला भूकम्पको धक्का सामान्य मात्रै थियो ।

'स्नान कक्षका सबै टाइल फुटेका छन् । खानपानका सबै सामग्री झरेका छन्,' एक जना ७२ वर्षे स्थानीयले समाचार संस्था एएफपीलाई बताए । 'हामीले चाहे पनि फर्केर भित्र जान सकिने अवस्था छैन । यहाँ विद्युत छैन ।'

छिमेकी सहर सिसाकमा पनि मानिसहरू घाइते भएका छन् । राष्ट्रिय प्रसारक एचआरटीले स्थानीय अस्पतालहरूलाई घाइतेहरूको उपचार गर्न गाह्रो भएको जनाएको छ । केही घाइतेलाई शल्यक्रियाको आवश्यकता रहेको बताइएको छ ।

जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो । पेट्रेनिया पुगेका प्रधानमन्त्री आन्द्रे प्लेनकोभीचले भने: 'एक जना बालिकाको मृत्यु भएको खबर हामीसँग छ । के कति हताहत भए भन्‍नेबारे थप सूचना छैन ।''सहयोगका लागि सेना आएका छन् । यहाँ बस्‍न असुरक्षित भएको हुँदा हामीले केही मानिसहरूलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिन्छ,' उनले थपे । बीबीसी