शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

मकवानपुरका बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु

हेटौंडा - मकवानपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हेटौंडाको भुटनदेवि माध्यमकि विद्यालयबाट खोप कार्यक्रमको सुरुवात गरेका छन् । मन्त्री खतिवडाले विद्यार्थीहरुलाई खोप लगाउन र परिवारमा जानकारी दिनसमेत आग्रह गरे । खोप नलगाएकाहरुले अनलाइन फाराम भरेर खोप लगाउन मन्त्री खतिवडाले आग्रह गरेका हुन् ।  

कोभिड–१९ बाट सुरक्षित रहन खोप नै उत्तम भएको मन्त्री खतिवडाले दाबी गरे ।  स्वास्थ्य मन्त्री खतिवडा पनि भुटनदेवि माविको पूर्व विद्यार्थी हुन् । भुटनदेवी माविका करिब ७ सय विद्यार्थीलाई मोडर्ना खोप लगाइने विद्यालयका प्रध्यानाध्यापक माधव दाहालले जानकारी दिए । खोप लगाउने विद्यार्थीको अभिभावकलाई पनि जानकारी गराइएको उनको भनाई छ ।

मकवानपुर जिल्लामा ५५ हजार डोज मोडर्ना खोप आएको छ । जिल्लामा आएको ५५ हजार मध्ये ३५ हजार खोप हेटौंडा उपमहानगरले पाएको छ । स्थानीय तहले विद्यालयमै खोप केन्द्र बनाएर आइतबारबाट खोप लगाउन सुरु गरेको हो । 

खोप लगाउनको लागि अनिवार्य अन्य खोपहरु जस्तै अनलाइबाट फाराम भर्नुपर्ने हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई बताए । उनका अनुसार नगरका १०४ विद्यालय मध्ये आइतबार २० वटा विद्यालयमा खोप कार्यक्रम चलिरहेको छ ।