बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

होस्टेलमा बालकलाई यातना दिने वार्डेन पक्राउ

पोखरा - विद्यालयको होस्टेलमा बालकलाई यातना दिने एक महिला वार्डेन पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वर चोकस्थित न्यू लाइफ स्कुलकी होस्टेल वार्डेन जिल्ला नुवाकोट पञ्चकन्या गाँउपालिका वडा नम्बर २ घर भई हाल पोखरा १४ बस्ने २७ वर्षीया जानुका नेपाली रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार होस्टेलमा बस्ने बालकको लिंगमा रबरले बाँधेर यातना दिने गरेकाे आराेपमा वार्डेन नेपालीलाई पक्राउ गरिएकाे हाे।

राति सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर उनले बालकको लिंगमा रबर बाँधिदिने गरेकी थिइन्। विद्यार्थीका आफन्तले मंगलबार घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीमा बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिकाविरुद्धको कसुरमा जाहेरी दिएका थिए। 

आफन्तको जाहेरीसँगै आरोपित वार्डेन नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो। नेपालीलाई मंगलबार नै अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ।