आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

बौद्ध विश्वविद्यालयले आंगिक क्याम्पस सञ्‍चालन गर्ने

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलो आंगिक क्याम्पस बुटवलमा सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा असोज २६ गते भएको १२ औं विश्वविद्यालय सभाले बुटवलमा पहिलो आंगिक क्याम्पस खोल्ने निर्णय गरेको हो ।

रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले केन्द्रीय क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसबाट पठनपाठन गराइरहेको थियो । सभाको निर्णयानुसार बुटवलमा यसै शैक्षिक सत्रदेखि सिटी क्याम्पस सञ्चालनमा ल्याइने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । ‘यो पहिलो आंगिक क्याम्पस हुनेछ, मंगलबा बुटवलमा सिनेटका निर्णय सार्वजनिक गर्दै उनले भने,यसलाई विस्तार गर्दै जाने रणनीति रहेको छ ।' बुटवलमा आंगिक क्याम्पस खुलेसँगै विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु विस्तार हुँदै जाने देखिएको छ । विश्वविद्यालय अहिलेसम्म लुम्बिनीमा मात्रै खुम्चिएर बसेको थियो । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन, कपिलवस्तुमा पुरातात्विक अनुसन्धान केन्द्र, देवदह र रामग्राममा अन्य शैक्षिक कार्यक्रम चलाउने रणनीति बनाएको छ । सिटी क्याम्पसमा मानविकीतर्फका विषयहरु सुरु चरणमा सञ्चालन हुनेछन् । बौद्ध दर्शनका विषय थप्दै लगिने रजिष्ट्रार आचार्यले बताए । अहिले बुटवलमा स्नातक तहमा कानून र  ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषय चलिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सभाले गायिका आनी छोइङ डोल्मालाई सदभावना दूत बनाउने निर्णय गरेको छ । विश्वविद्यालयको अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि डोल्मालाई दूत बनाइएको रजिष्ट्रार आचार्यले बताए ।
सभाले काठमाडौंमा बज्रयान अध्ययन केन्द्र स्थापना गर्ने निर्णयसमेत गरेको छ । विश्वविद्यालयले लुम्बिनी क्षेत्रका चार स्थान, हिमाली क्षेत्र र काठमाडौंमा बौद्ध दर्शनका विभिन्न शैक्षिक कार्यक्रम चलाउने दीर्घकालीन रणनीति बनाएको छ ।
सभाले हरेक वर्ष एक जना बौद्ध विद्वानलाई सम्मान गर्ने गरी ५ हजार डलर राशीको लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तरराष्ट्रिय प्रज्ञारत्न अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।

सभाले विश्विद्यालयका लागि २ सय ५३ जनाको दरबन्दी स्वीकृत गरेको छ । शिक्षणतर्फ १ सय १२ जना र प्रशासनिक कर्मचारीतर्फ १ सय ४१ जनाको दरबन्दी स्वीकृत गरेको हो । चालु आर्थिक वर्षका लागि ३० करोड ६० लाखको बजेट पनि स्वीकृत गरेको छ ।

बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शनबाहेकमा पनि विद्यावारिधी गर्न सकिने भएको छ । डिग्रीको संख्या वृद्धि भएर १२ पुगेको छ । सभाले नियमावली संसोधन, वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । १५ वर्षअगाडी स्थापना भएको विश्वविद्यालयले पछिल्लो सात वर्षदेखि स्नातकोत्तर र स्थातक तहमा अध्यायपन गर्दै आएको छ । पछिल्लो आधा दशकमा मात्रै विश्वविद्यालय देखिने तहमा पुगेको हो । अहिले विश्वविद्यालयमा ७ सय २ जना विद्यार्थी रहेका छन् ।

विश्वविद्यालयका रजिष्ट्रार आचार्यले शैक्षिक कार्यक्रमका लागि भौतिक पूर्वाधार निर्माण जोड दिइएको बताए । मंगलबार बुटवलमा सभाका निर्णय सार्वजनिक गर्दै आचार्यले केही समयभित्रै रुपन्देहीका देवदहमा एक सय विगाहा जमिनमा पूर्वाधार निर्माण गरिने बताए ।