शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

'प्रचण्ड-पथ' मेरो व्यक्तिगत पुँजी जसरी पन्छाइनु गलत थियो, अब नब्‍युँताऊँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले 'प्रचण्ड-पथ' फेरि स्थापित गर्नु पश्‍चगामी सोच हुने उल्ल‍ेख गरेका छन् । काठमाडौँमा जारी पार्टीको ८औँ महाधिवेशनमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा दाहालले 'प्रचण्ड-पथ' अब ब्‍यूँताउन अब आवश्यक नभएको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

'प्रचण्ड-पथ' दाहालको व्यक्तिगत पुँजी जस्तो गरी बीचमै स्थगित गरेर पार्टीभित्र गम्भीर आशंका र अराजकता उनको टीप्पणी छ । 'तत्कालिन नेकपा (माओवादी)ले युद्धको बीचमा जीवन हत्केलामा राखेर सम्पन्‍न गरिएको दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा आम माओवादी कार्यकर्ता एवं समर्थक जनसमुदायले समेत सगर्व अनुमोदन गरेको 'प्रचण्ड-पथ' न केन्द्रीय समितिमा न राष्ट्रिय भेला वा सम्मेलन आयोजना गरेर कुनै खालको बहस, छलफल र निर्णय प्रक्रिया बिना नै प्रचण्डको व्यक्तिगत पुँजी जस्तो गरी स्थगित गर्नुले पनि पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा पुर्‍याएको छ' दाहालले राजनीतिक प्रतिवेदनमा लेखेका छन्  ।

'प्रचण्ड-पथ'बारे पार्टीभित्र बहस र छलफल चलाउन आवश्‍यक रहेको तर शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल नगरी हल्का ढंगले विषयलाई पन्छाइनु गलत भएको दाहालको ठहर छ ।

'वास्तवमा 'प्रचण्ड-पथ'बारेमा पार्टीभित्र गम्भीर बहस, छलफलसहित सम्भव भए राष्ट्रिय सम्मेलन, सो सम्भव नभए कम्तिमा केन्द्रीय समितिको बैठकमार्फत त्यसबारे एकरुप धारणा बनाएर निर्णय लिनु पर्दथ्यो' राजनीतिक प्रतिवेदनमा उल्‍लेख छ 'तर, शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल गरी निश्कर्ष निकाल्ने काम गर्न सकिएन । यी दुबै कुरा नगरी अत्यन्त हल्का ढंगले विषयलाई पन्छाइनु गलत भएको छ । यस सन्दर्भमा कतिपय कोणबाट पुनः 'प्रचण्ड-पथ' स्थापित गर्नुपर्ने हो कि भन्‍ने तर्क पनि उठेको देखिन्छ । अब त्यसरी सोच्‍नु विल्कुल पश्चगामी सोच हुन पुग्दछ । र त्यसरी सोच्‍नु पनि हुँदैन । बरु आजको आवश्यकता भनेको समाजवादी क्रान्तिको रणनीति अन्तर्गत नयाँ विचार संश्लेषणको निमित्त अध्ययन, अनुसन्धान, चिन्तन, मनन, बहस र संघर्षलाई अगाडि बढाउनु हो । माओवादी आन्दोलनले विकास गरेको 'प्रचण्ड-पथ' र २१ औँ शताब्दीको जनवाद त्यसका विभिन्न महत्वपूर्ण अनुभव र सन्दर्भ सामग्री भने अवश्य हुनेछन् ।' 

र, यो पनि