आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

अध्यक्षबाट ओलीलाई हटाउने षड्यन्त्र गर्दा नेकपा विभाजनको स्थितिमा : ईश्‍वर पोखरेल

फाइल तस्बिर

काठमाडौँ  : नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले पार्टी अध्यक्षबाट प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले हटाउन खोज्दा नेकपा विभाजनको स्थितिमा पुगेको बताएका छन् ।

मजदूर विशेष जिल्ला कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पोखरेलले दुवै नेताले नेतृत्वमा पुग्‍नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दा पार्टी यो अवस्थामा पुगेको बताए । 

पोखरेलले दाहालले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्‍चालन गरेपछि गम्भीर समस्या देखा परेको बताए । 'प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लंघन गर्दै आउनुभएको हो,' उनले भने, 'एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर जान पुग्यो ।' 

उनले आफूहरू अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्‍ने तत्वलाई उचित ढङ्गले जवाफ दिन तयार रहेको बताए । ओलीले राम्रा काम अघि सार्दा आफूहरू पछि पर्ने डरले दाहाल-नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उनको दाबी छ । 

पोखरेलले प्रधानमन्त्रीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढता पूर्वक उभिदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण काम गर्दा सो समूहलाई असह्य भएको बताए ।