आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

नेकपा (दाहाल-नेपाल समूह)ले घोषणा गर्‍यो ३३ दिने आन्दोलन (कार्यक्रमको सूचीसहित)

काठमाडौँ  : नेकपा दाहाल-नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनपछि सडकमा आएको नेकपा दाहाल-नेपाल समूहले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई सुचारू नबनाउँदासम्म आन्दोलन जारी राख्‍ने बताए । सरकारको असंवैधानिक कदमको विरुध्दमा जनतालाई सुसूचित बनाउने र जनदबाब सिर्जना गर्न आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए ।

उनले भने, ‘असंवैधानिक रूपमा विघटन गरेको प्रतिनिधि सभालाई सुचारु नबनाउँदासम्म र त्यसले सिर्जना गरेको प्रतिगमनको खतरालाई निस्तेज नपार्दासम्म जारी रहने छ । त्यसैले यो आम जनतालाई सुसूचित गर्ने र संघर्षमा उतार्ने र व्यापक जनदबाब सृष्टि गर्ने कार्यक्रमको रूपमा आएको छ । हाम्रा आन्दोलनको कार्यक्रम पूर्ण शान्तिपूर्ण हुनेछन् ।’

संयोजक श्रेष्ठले संवैधानिक अंगहरूलाई दबाबमा राखेर काम गर्ने स्थिति नहोस भनेर खबरदारी गर्न जनदबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । सरकारको हस्तक्षेप र दबाब नहोस र संवैधानिक अंगका पदाधिकारीलाई अपमानित गर्ने स्थिति नहोस भनेर वातावरण बनाउन चाहेको उनको भनाइ थियो ।

उनले भने, ‘संविधान अन्तर्गत क्रियाशिल संविधानले प्रस्ट आ-आफ्‍नो कार्यक्षेत्र परिभाषित गरेका संवैधानिक अंगहरूलाई कुनैपनि कोणबाट दबाबमा राखेर काम गर्ने स्थिति उत्पन्‍न हुन दिन चाहन्‍नौ । त्यसैले हाम्रो पार्टीले संघर्षको कार्यक्रममार्फत जनदबाबको वातावरण निर्माण गर्ने दायित्व पूरा गर्दैछौं ।’

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रयास गरिएपनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नसकिदा कांग्रेसले रूची नदेखाएको पनि संयोजक श्रेष्ठले बताए ।

प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक हो भन्‍नेमा समान धारणा रहेको तर कांग्रेसले केन्द्रीय समितिले निर्णय नगरेका कारण संयुक्त संघर्षका कार्यक्रम घोषणा गर्ने स्थिति नरहेको बताए । तर सबै पार्टीले आ-आफ्नो ढंगले कार्यक्रम जारी राख्‍ने उनले बताए । 

यस्ता छन् आन्दोलनका कार्यक्रम
१. २०७७ पौष २० गतेसम्म पालिका स्तरमा र २५ गते सम्म वडा स्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
२. २०७७ पौष २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन । 
३. २०७७ पौष २१ गते संघीय राजधानी र विभिन्‍न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया कार्यक्रम ।
४. २०७७ पौष २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम ।
५. २०७७ पौष २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र । विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने । 
६. २०७७ पौष २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम ।
७. २०७७ पौष २७ गते (सुदूरपश्‍चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश २, गण्डकी र कर्णालीमा) र पौष २९ गते बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम । 
८. २०७७ पौष २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुध्द सबै वडाहरुमा व्यानर राख्‍ने कार्यक्रम । 
९. २०७७ पौष २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला । 
१०. २०७७ पौष ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा । 
११. २०७७ माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा । 
१२. २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली । 
१३. २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा । माघ १७ गते प्रदेश नं. २ मा विरोध प्रदर्शन र सभा । 
१४. २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस । 
१५. २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा । 
१६. यस बीचमा उद्योग व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम र लेखक-कलाकारहरू, सांस्कृतिककर्मीहरू र बुध्दिजीवीहरूको विशिष्ट प्रकारको कार्यक्रमहरू आयोजना गरिने ।