नयाँ वर्षको पहिलो कारोबारमा सेयर बजारमा कीर्तिमानी
८८ अंकले बढेर बजार २१७५ को बिन्दूमा, किन बढ्यो बजार ?

काठमाडौं : अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार भएको आइतबार सेयर बजार सूचकांक नेप्से परिसूचक कीर्तिमानी उचाइमा पुगेको छ । नेप्से ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ बिन्दूमा पुगेको हो ।
यो अहिलेसम्म उच्चतम् बिन्दू हो । गत साता बिहीबार नेप्से २०८७.२७ अंक पुगेर रेकर्ड तोडेको थियो । गत साताको अन्तिम दिन विहीबारदेखि बजारमा सेयरको खरिद चाप बढिरहेको छ । बिहीबार नेप्से २५.२१ अंकले बढेर २ हजार ८७ दशमलव २७ बिन्दुमा पुगेको थियो । मंसिर १७ मा नेप्सेले कायम गरेको कीर्तिमान तोडिएको थियो । त्यतिबेलामा नेप्से २०७१.०३ मा पुगेर रोकिएको थियो ।
एक दिनमै सेयर बजार ८८.१२ अंक (४.२२प्रतिशत) बढ्नुलाई अस्वाभाविक वृद्धि मानिन्छ । अर्थशास्त्रमा यस्तो वृद्धिलाई बबल (फोका) पनि भन्ने गरिन्छ । पानीको छालमा उत्पन्न हुने फोका जसरी फुट्छन्, यस्तो वृद्धि पनि त्यसरी नै फुट्छ भन्ने सैद्धान्तिक मान्यता छ ।
यसको उदाहरण मंसिर १७ को सेयर कारोबारलाई लिन सकिन्छ । एकैदिन ७०.६२ अंकले बढेर नेप्से २०७१.०२ बिन्दूमा पुगेको थियो । भार अंकले सेयर बजारमा देखिएको बबल आइतबार सम्म टिक्न सकेन । आइतबार बजारमा १२३ अंकले पहिरो नै गयो । नेप्से बढेकै दिन धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह समेत गरेको थियो । परिणाम स्वरूप आइतबार नै लगानीकर्ताले ठुलो नोक्सानी बेहोर्नुपरेको थियो ।
घरजग्गा, सेयर र विनिमय बजारजस्ता क्षेत्रमा संसारभर नै बेलाबखत यस्तो अस्वाभाविक मूल्य वृद्धिको घटना हुने गर्छन्। २०६५ ताका नेपाली अर्थतन्त्रले घरजग्गा र सेयर बजारमा यस्तै बबलको सामना गरेको थियो, जसको परिणामस्वरुप धेरै लगानीकर्ताले ठूलो मूल्य चुकाउनुपर्यो ।
किन बढिरहेको छ सेयर बजार ?
लगानीको विकल्प
सेयर मूल्य बढ्नुमा मुलुकमा उपलब्ध लगानीका अन्य क्षेत्र पनि हो । कोभिड-१९ ले थलिएका कृषि, पर्यटन, ऊर्जा, उद्योग क्षेत्र तंग्रिएका छैनन् । ती क्षेत्रका पैसा सेयर बजारमा गएको विश्लेषकहरू बताउँछन् ।
पैसा भएका व्यक्तिले लगानी गर्ने अन्य क्षेत्र सुनिश्चित नभएकाले सेयर बजारमा आकर्षण बढेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनले भने, 'अहिले कसैसँग पैसा छ भने उसले लगानी गर्ने सुरक्षित ठाउँ छैन । तत्काल किनबेच गरेर नाफा कमाउने क्षेत्र सेयर बजार हो । त्यसैले पनि लगानीकर्ताहरू सेयर बजारमा लगानी गरिरहेका छन् ।'
कोभिड-१९ का कारण अन्य क्षेत्रमा लगानी गर्न डराइरहेका छन् । सट्टेबजारमा लगानी गरेर नाफा कमाउन खोज्नेको भीड बढेको छ ।
मुद्दतीका ग्राहक सेयर बजारमा आकर्षित
बैंकले दिने ब्याजदरसँग सेयर लगानीमा प्रत्यक्ष सम्बन्ध छ । मुद्दती निक्षेपमा ढुक्कसँग राम्रो ब्याज आउने अवस्था छैन ।
लामो समयदेखि अधिक तरलताको स्थिति छ । अपेक्षा अनुसार कर्जाको माग समेत छैन ।
अधिक तरलता खेपेका बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाइरहेका छन् । कोभिड-१९ सुरू हुनुअघि अधिकतम करीब साढे ९ प्रतिशतसम्म व्यक्तिगत मुद्दती दिँदै आएका थिए । अहिले वाणिज्य बैंकहरूले मुद्दती निक्षेप घटाएर अधिकत् ७-८ प्रतिशत हाराहारीमा र न्यूनतम् ३ प्रतिशतसम्म झारेका छन् ।
खाइपाइ आएकोभन्दा कम ब्याजदर नआउँने भएपछि लगानीकर्ताहरू मुद्दतीको रकम समेत झिकेर सेयर बजारमा लगानी गरिरहेको सेयर बजार विश्लेषकहरूको मत छ ।
त्यस्तै आठ प्रतिशत ब्याजदरमै ऋण पाइन थालेको छ । पछिल्लो समय ब्याजदर घट्दा लगानीकर्ताले बैंकबाट सस्तोमा ऋण लिएर सेयर बजारमा लगानी गर्दै आएका छन्।
उतारपछि चढावको चक्र
२०७३ सालको साउन महिनामा नेप्सेको सूचकांक नेप्से परिसूचक १८८० हाराहारीको उच्चतम बिन्दुमा पुगेको थियो ।
त्यसको अढाई वर्षमा नेप्से परिसूचक खस्केर ११३० सम्म पुग्यो । करिब चार वर्ष पाँच महिनापछि नेप्से परिसूचक अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको हो ।
एउटा विश्वव्यापी मान्यता छ, अर्थतन्त्र एउटा चक्रमा चलिरहन्छन् । सेयर बजारलाई देशको समग्र आर्थिक अवस्थाको एक सूचक मानिन्छ । सेयर बजारमा पनि एउटा चढावको चक्रपछि उतारको चक्र हुने गरेको विश्वास गरिन्छ ।
त्यस्तो चक्र नेपालमा ५२ महिनाको हुनेगरेको लगानीकर्ताहरू विश्वास गर्छन् । नेपालले सेयर बजारको उतारको चक्र पार गरिसकेकोमा लगानीकर्ता छोटेलाल रौनियारको पनि विश्वास छ ।
'२०७३ सालमा एउटा उचाइ कायम गरेको नेप्सेले लगातार ओरालो यात्राको ४ वर्ष पुरा गरेको छ, 'उनले भने, 'यो बुलिश ट्रेन्ड हो । बजारले अब लगातार उकालो यात्रा तय गर्नेछ ।'
बियरिश ट्रेन्ड (सेयर बजार ओरालो लागेको समय) मा लगानीकर्ताहरू लाभांश र हकप्रदको लोभ नगर्ने भएपनि बुलिश ट्रेन्डमा लाभांशकै लागि सेयर बजारमा लगानी गरिरहेको उनको बुझाई छ ।
बुक क्लोज पछि मुल्य समायोजन हुने भएपछि सस्तोमा सेयर हात पार्न खोज्नेको संख्या पनि उल्लेखनीय रुपमा बढेको उनको तर्क छ ।
ब्रोकर कमिशनको प्रभाव बल्ल देखियो
पुस १० मा धितोपत्र बोर्डले ३३ प्रतिशतले ब्रोकर कमिशन घटाएपछि तत्काल सेयर बजार बढ्ने अपेक्षा गरेको थियो । तर, त्यसको उल्टो परिणाम दुई/चार दिन सेयर बजारमा नकारात्मक प्रभाव पर्यो । कारण, ब्रोकर र नियामक निकायबीचको विवाद थियो ।
कमिशन घटेको भोलीपल्टै कमिशन मूल्य समायोजन गर्नमा ढिलाई गरेको विगतको अनुभवले पनि लगानीकर्ताहरू 'पर्ख र हेर'को अवस्थामा थिए । सेयर बजार क्रमश: बढ्दै गएपनि कारोबार घट्दो क्रममा थियो ।
विहीबारदेखि सेयर बजार सूचकांक नेप्से परिसूचक ऐतिहासिक बिन्दूमा पुग्यो । कारोबार पनि ५ अर्ब ७० करोड रुपैयाँ बराबर पुगेर बन्द गएको थियो । आइतबार नेप्से कारोबार ६ अर्ब ३४ करोड पुगेको छ ।
समय |
नेप्से परिसूचक |
मंसिर १७ |
२०७१.०३ |
मंसिर २९ |
२०६७.१७ |
पुस १६ |
२०८७.२७ |
पुस १९ |
२१७५.३९ |
सबैभन्दा बढी कसले कमाए ?
आइतबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ, पुनर्बिमा कम्पनी, प्राइम कमर्शियल बैंक लिमिटेड प्रोमोटर सेयर र प्राइम बैंकका लगानीकर्ता छन् ।
हिमालयन डिस्टिलरी र साल्ट ट्रेडिङ लिमिटेडको सेयर सुरुवाती कारोबारमै १० प्रतिशतले बढेर रोकिएको (सकारात्मक सर्किट) थियो । हिमालयन डिस्टिलरीको अन्तिम कारोबारमा मूल्य प्रति कित्ता ३ हजार ८ सय ७२ रुपैयाँ थियो भने साल्ट ट्रेडिङको प्रति कित्ता ६ हजार ९ सय ९ रुपैयाँ थियो । यसक्रममा साल्टको सेयर ६२८ अंकले बढेको हो ।
पुनर्बिमा कम्पनीको सेयर पनि एक सय ३४ अंकले बढेको हो ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया