शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय

कैलाली - माघ १२ गते सातै प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । निर्वाचन कार्यालय कैलालीका सहायक निर्वाचन अधिकृत प्रेम भट्टले निर्वाचन कार्यालयमै मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको बताए ।

राष्ट्रिय सभाका २० जना सांसदको आगामी फागुन २० गते चार वर्षे कार्यकाल पूरा हुँदैछ । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ छ भने १९ जनाका लागि निर्वाचन हुन गैरहेको हो । जसमा महिला, दलित र अन्य तर्फ आज मनोनयन दर्ता हुने सहायक निर्वाचन अधिकृत भट्टले बताए ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीनै पदमा उम्मेदवारी दिने तयारी गरेको छ भने गठबन्धनको तर्फबाट तीन दलले तीन पदमा उम्मेदवारी दिने छन् । एमालेले महिलातर्फ कैलाली कि सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक/एक जना उम्मेदवार हुने भएका छन् । जसमा नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहलाई उम्मेदवार बनाउने निर्णय यस अघि नै गरिसकेको छ ।